ताजा समाचार

जेठ २ गते २०७६

प्रेस युनियन सडकमा, सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी

नेपाल प्रेस युनियन कास्कीले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम सञ्चार लगायतका विधेयकका विरुद्ध सडकमा उत्रिएको छ । युनियनले बिहीबार बिहान महेन्द्रपुलदेखि चिप्लेढुंगासम्म शान्तिपूर्ण विरोध प्रदर्शन गरी प्रेस स्वतन्त्रताको रक्षाका लागि माग गरेको हो ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले शाहीकालको झल्को दिने गरी सरकारले विधेयक ल्याएकाले त्यसका विरुद्ध सबै पत्रकार उभिनुपर्ने खाँचो औंल्याए । उनले मिडियालाई आतंकित पारेर कलम बन्द गराउने खोज्ने सरकारलाई सडकबाटै झुकाउन आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवं प्रेस युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोलाले सरकारले २ तिहाइको आडमा प्रेसलाई कमजोर बनाउन खोजेको आरोप लगाए । उनले समाचार लेखेर, बोलेर नसुन्ने बहिरो सरकारलाई सडकबाटै ठीक पार्नुपर्नेमा जोड दिए ।

प्रेस युनियनका कास्कीका अध्यक्ष नवीन सिग्देलले पूर्ण प्रेस स्वतन्त्रता विरुद्ध ल्याएको विधेयक तत्काल सच्चाउनुपर्नेमा जोड दिए । सत्तामा नहुँदा ठूला कुरा गर्ने र सत्तामा पुगेपछि तानाशाह बन्ने प्रवृत्ति विरुद्ध प्रेस युनियन सशक्त भएर उभिने स्पष्ट पारे ।

उनले पत्रकारको आवाज सरकारले नसुने अन्य सशक्त गतिविधि गर्न बाध्य हुने चेतावनी समेत दिए । उनले पत्रकार र सञ्चार क्षेत्रमाथि हुने जुनसुकै प्रहार र कुठाराघातमाथि युनियन चुप लागेर नबस्ने स्पष्ट पारे ।

नेपाल पत्रकार महासंघ कास्कीका सदस्य कमल पौडेल ‘अथक’ ले देशमा अर्को तानाशाही सुरु भएको अनुभव हुन थालेको बताए । ‘सरकारले प्रेसमाथि धावा बोलेको छ,’ उनले भने, ‘स्वतन्त्रताको अधिकार प्रत्याभूति गराउनका लागि भए पनि सरकारले ल्याएको विधेयक खारेज गर्नुपर्छ ।’

युनियनकी केन्द्रीय सदस्य सरिता तिम्सिनाले लोकतन्त्र ल्याउन पत्रकारले खेलेको भूमिकाको वर्तमान सरकारले अवमूल्यन गर्न खोजेको आरोप लगाइन् ।

युनियनका गण्डकी प्रदेश संयोजक टंक अधिकारीले संविधानमा टेकेर आएको सरकारले प्रेसलाई निरुत्साहित गर्न खोजेको भन्दै त्यका विरुद्ध सशक्त भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रेस संगठनका अध्यक्ष सन्देश श्रेष्ठले सरकारले प्रेसलाई कुन्ठित गर्ने प्रयास गरेको हुँदा खुलेरै विरोध गर्नुपर्ने बताए । उनले विचार आआफ्ना फरक–फरक भए पनि समग्र पत्रकारिता क्षेत्रमा भएको अन्यायपूर्ण व्यवहारका साथै धावा बोलेकाले त्यसविरुद्ध सबै एकठाउँमा उभिन आवश्यक हरेको बताए । उनले प्रेस युनियनको आन्दोलनमा आफ्नो संगठनको पनि ऐक्यवद्धता रहेको स्पष्ट पारे ।

कार्यक्रममा युनियनका सल्लाहकार डा. बलराम उपाध्याय रेग्मी, युनियन कास्कीका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदिप पौडेल, पत्रकार हिमनीधि लौडारी, नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कृष्णमणि बराल लगायतले सञ्चारमाध्यम माथि अंकुश लगाउने प्रस्तावित विधेयक फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।