ताजा समाचार

जेठ १ गते २०७६

मिडिया काउन्सिल विधेयकको पोखराबाट पनि विरोध सुरु

नेपाल पत्रकार महासङ्घ कास्कीले सरकारले हालै संसद्मा पेश गरेको मिडिया काउन्सिल विधेयकको विरोध गरेको छ ।

विधेयकका सम्बन्धमा छलफल गर्न महासङ्घ कास्कीद्वारा बुधबार आयोजित अन्तरक्रियामा स्वतन्त्र प्रेसविरुद्ध विधेयक आएको भन्दै महासङ्घ केन्द्रको निर्णयअनुरुप विरोध कार्यक्रम सञ्चालन गर्ने जनाईएको हो ।

संविधानको मर्म र भावना विपरीत स्वतन्त्र प्रेसलाई सङ्कुचन गर्ने किसिमबाट विधेयक आएको नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले आरोप लगाए ।

साथै नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले मिडिया काउन्सिल सरकार मातहत हुन नहुनेमा जोड दिए ।

प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीकले लोकतन्त्र एवम् प्रेस स्वतन्त्रता एकापसका परिपूरक भएको उल्लेख गर्दै सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पूर्ण स्वतन्त्र प्रेसको पक्षमा हुनुपर्ने बताए ।

कार्यक्रममा नागरिक समाज, सुरक्षाकर्मी र पत्रकारसङ्घ आबद्ध विभिन्न सङ्घसंस्था एवम् सञ्चारकर्मीको सहभागिता रहेको थियो ।