ताजा समाचार

जेठ १ गते २०७६

एकल विन्दु सेवा केन्द्र आजबाट सञ्चालनमा

सरकारले नीति तथा कार्यक्रममा घोषणाअनुरुप लगानी प्रवद्र्धन तथा कानूनी प्रक्रिया सहजीकरणका लागि एकल विन्दु सेवा केन्द्र आजबाट सञ्चालनमा आएको छ ।

परियोजनाको अनुमति, समझदारीपत्र, लगानी अनुमति, वा सम्झौतालगायत काम गर्ने था परियोजनालाई सहयोग एवं सहजीकरणका लागि यस केन्द्रको स्थापना गरिएको हो ।

उद्योग विभागको महानिर्देशक कार्यकारी प्रमुख रहने केन्द्रमा उनी मातहत निर्देशकहरुसहित १९ जना कर्मचारीहरु रहनेछन् । यसको भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभाग परिसरमा निर्माण भइरहेको एकद्वार प्रणाली केन्द्रमा ८ वटा युनिटहरु रहनेछन् । यसमा उद्योग दर्ता, वातावरण, विदेशी विनिमय सहजीकरण, भिषा सहजीकरण, पूर्वाधार, जग्गा प्रशासन, भन्सार तथा राजश्व र प्रशासन तथा कानून ईकाइ रहने जानकारी मन्त्रालयले दिएको छ ।

लगानीकर्ताको पुँजी परिचालन, श्रम सम्बन्ध सहितका विषयका काम यो केन्द्रबाट हुनेछ । एकद्वार प्रणालीको खाका मन्त्रिपरिषदबाट पारित भइसकेको छ ।सरकारी निकायको झन्झटिलो प्रक्रियाका कारण उत्साहित भएर आएका लगानीकर्ता पनि हतोत्साहित हुने अवस्था हटाउन एकद्वार प्रणालीको परिकल्पना गरिएको हो ।

यो केन्द्रमा सरकारका सम्बन्धित मन्त्रालय, विभाग, प्राधिकरण, सार्वजनिक संस्थान, नेपाल राष्ट्र बैंकलगायत निकायबाट सम्बन्धित कार्यालयको प्रतिनिधित्व हुने गरी पूरा वा आंशिकरुपमा काम गर्ने कर्मचारी व्यवस्था गरिनेछ ।

त्यस्तै, केन्द्रले लगानीका लागि प्राप्त प्रस्तावको मूल्यांकन गरी स्वीकृतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुका साथै कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी विनिमयको अनुमति दिनेछ ।