ताजा समाचार

वैशाख ३० गते २०७६

नकावधारीद्धारा एभिन्युज टेलिभिजनको वीरगञ्ज कार्यालय आक्रमण भएपछि

एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा नकावधारीद्धारा सोमबार दिउँसो तोडफोड भएको छ ।

कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका हुन्।

साढे १२ बजेतिर मुखमा कालो बाँधेका केही मानिसहरू आएर तोडफोड गर्दा सिसा फुटेका छन् भने अफिसको ब्यानर पनि च्यातिएको एभिन्युजकी वीरगञ्जस्थित पत्रकार मुस्कान श्रेष्ठले बताईन् । उनका अनुसार को र किन कार्यलय आक्रमण गरे भन्ने विषयमा स्पष्ट प्रमाण नभएपनि समाजवादी पार्टीका कार्यकर्ता हुन सक्ने आंशका छ ।

उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्तामा आइतबार प्रसारण भएको थियो। उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिरिएका थिए ।

सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि समाजवादी पार्टीका कार्यकर्ताले त्यसैको आक्रोशमा वीरगञ्ज कार्यालय तोडफोड गरेको एभिन्युज टेलिभिजनले दाबी गरेको छ। अहिले प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ।