ताजा समाचार

वैशाख २९ गते २०७६

पोखरा–देहरादून पनि सिधा बस सेवा

पोखरा–भारतको देहरादून सिधा बस सेवा सञ्चालन हुने भएको छ । पृथ्वी राजमार्ग बस सेवा अन्तर्गतको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले बस सञ्चालन गर्न लागेको हो । प्रत्येक साताको १ दिन बुधबार बस सेवा सञ्चालन गर्न लागिएको पृथ्वीराजमार्ग बस संचालक समितिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए ।

उनका अनुसार बस पोखराबाट नारायणगढ, बुटबल, महेन्द्रनगर, बनबास, रुद्रपुर, हरिद्वार, ऋषिकेश हुँदै देहरादूनसम्म पुग्नेछ । यात्रा गर्दा प्रति यात्रुले भारु २ हजार ७ सय रुपैयाँ अर्थात नेपाली ४ हजार ३ सय २० रुपैया शुल्क तिर्नुपर्ने हुन्छ । बुधबार पोखराबाट गएका बस शनिबार देहरादूनबाट फर्किने उनले बताए । अध्यक्ष साईले छिटै नै भारतको पट्ना र पोखरा जोड्ने गरी बस सेवा समेत सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी दिए ।

समितिको विशेष पहलमा बस सेवा आउँदो जेठ ४ गते बुद्ध जयन्तीको अवसरमा देहरादूनबाट र ८ गते पोखराबाट शुभारम्भ अध्यक्ष साईले बताए । एसीसहितको सुविधासहित ३५ सिट क्षमताको एउटा बसबाट सेवा संचालन गर्न लागिएको उनले बताए ।

२ बर्ष अगाडिदेखि पोखरा–देहरादून बस संचालन गर्न चाहेको भए पनि पनि रुट परमिट नपाएका कारण केही ढिला भएको अध्यक्ष साईले बताए । देहरादूनमा करिब २५ प्रतिशत नेपाली बसोबास गर्छन् । उनीहरू नेपाल आउन सहज बनाउने उद्देश्यले बस सञ्चालन गर्न लागिएको अध्यक्ष साईले बताए । नेपालबाट देहरादून, हरिद्वार जाने नेपालीलाई सहजता पुर्याउने मनसायले स्तरीय सिधा बस सेवा संचालनमा ल्याउन लागेको उनले जानकारी दिए ।

मोर्डन एरा टुर्स एण्ड ट्राभल्सका सञ्चालक केशव अधिकारीले भारतको नयाँ दिल्ली–पोखरा बस सेवा सञ्चालन गरेको १२ वर्षपछि देहरादून बस सेवा शुरु गर्न लागिएको जानकारी दिए । पर्यटनको दृष्टिले स्वास्थ्य, शिक्षा र व्यवसायीका हिसावले पनि पोखरादेखि भारतका मुख्य शहर जोड्न खोजेको अध्यक्ष अधिकारीले बताए ।

३ वटा बसबाट सेवा शुरु गरेको मोर्डन एराले हाल २२ वटा गाडीबाट सेवा दिंदै आएको छ । उनले नेपाली विद्यार्थी, व्यवसायी, विरामी र पर्यटनमा बस सेवाले टेवा पुर्याउने बताए । बस सेवा शुभारम्भको अवसरमा भाडामा १० प्रतिशत छुट दिइने भएको छ । मोर्डन एराले पोखरा–काठमाडौं, पोखरा–सौराह लगायतका पर्यटकीय क्षेत्रमा सुविधा सम्पन्न सिधा बस सेवा संचालनमा गर्दै आएको छ ।

समितिका महासचिव योगेन्द्र केसीले समितिमा हाल १ हजार ३ सय ७८ वटा बस रहेको भन्दै समितिद्वारा संचालित अधिकांश गाडी पूर्व मेचीदेखि पश्चिमको महाकाली, उत्तरको हिमालदेखि दक्षिणको तराइसम्म सेवा प्रदान गर्दै आएको बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले पोखरादेखि दिल्ली हुँदै पोखरादेखि देहरादून लगायतका भारतका शहरमा सिधा बस सेवा जोड्दा भारत र नेपालको सम्वन्ध प्रगाढ हुने र दुबै देशका पर्यटक आउन-जान सहज हुने दावी गरे ।