ताजा समाचार

वैशाख २८ गते २०७६

नवौं राष्ट्रिय खेलकुद : मुस्ताङमा टेबलटेनिस, मनाङमा बुद्धिचाल

दुई वर्षपछि आयोजना गरिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि अधिकांश खेल पोखरामै खेलाईने निर्णय गरिएको छ । केही खेल भने गण्डकी प्रदेशका जिल्लाहरुमा सञ्चालन हुने छन् । खेलकुदको पुर्वाधार विकाससँगै खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्यसहित विभिन्न जिल्ला तहमा खेलहरु सञ्चालन गरिने तयार गरिएको हो ।

सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि विभिन्न जिल्लामा खेलहरु सञ्चालन गरिएको थियो । प्रतियोगिता विभिन्न जिल्लातहमा सञ्चालन गरिदाँ उदघाटन र समापन समारोहमा खेलाडीको उपस्थिति न्युन हुने सम्भावना भने प्रवल रहन्छ ।

पोखरामा विभिन्न २१ वटा खेलहरु खेलाईने पश्चिमञ्चल क्षेत्रीय खेलकुद विकास समितिले प्रारम्भिक निर्णय गरेको छ । बाँकी १४ वटा खेलहरु भने गण्डकी प्रदेशका अन्य १० जिल्लामा खेलाईने छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सस्करणसम्म आईपुग्दा हिमालपारीको जिल्ला मुस्ताङ र मनाङमा समेत खेल आयोजना गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले सुनाए । ‘ प्रारम्भिक निर्णय मात्रै गरेका छौं । तर जिल्लाको माग दावीलाई ध्यानमा राखेर पछि फेरी फेरबदल गर्ने सम्भावना रहन सक्छ ।’ अध्यक्ष श्रेष्ठले भने ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गरेको निर्णय अनुसार मुस्ताङमा टेवल टेनिस प्रतियोगिता आयोजना गरिने छ । अर्को हिमालपारीको जिल्ला मनाङमा भने बुद्धिचाल प्रतियोगिता खेलाइने निर्णय गरिएको छ । हिमालपारीको जिल्लामा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिता भने पहिलो हुने छ । पछि मात्रै बनेको गण्डकी प्रदेशको जिल्ला नवलपुरमा भने तीन खेल खेलाईने सम्भावना छ । नवलपुरमा कवड्डी, खो खो र कुस्तीको खेलहरु सञ्चालन गरिने छ । तीनै खेलको लागि नवलपुर अलि बढी सम्भावित क्षेत्र पनि हो । त्यसैले पनि ती खेललाई नवलपुरमा राखिएको अध्यक्ष श्रेष्ठले बताए ।

म्याग्दीमा फुल कन्ट्याक्ट कराँते, बाग्लुङमा भारोत्तोलन, पर्वतमा सितेरियो कराँते, स्याङजामा आईटिएफ तेक्वान्दो प्रतियोगिता खेलाईने छ । गोरखा जिल्लामा सेपाकताक्रो खेल खेलाईने छ । तनहुँमा बास्केटबल र लमजुङमा व्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने छ । लमजुङ गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङको जन्मथलो समेत हो । जहाँ व्याडमिन्टनको पुर्वाधार बनाउने मात्रै २ करोड रुपैयाँको अनुमानित बजेट गरिएको छ । जिल्ला तहमा खेलाईने खेलसँगै आवश्यक पुर्वाधार समेत अध्ययन र अनुगमन भने क्षेत्रीय खेलकुद विकास समितिले गर्ने छ । आवश्यक पुर्वाधार नभएको अवस्थामा निर्माण एवं मर्मत सम्भार गरी प्रतियोगिता सञ्चालन गरिने योजना समेत खेलकुद समितिले लिएको छ ।

फुटबल देखि एथलेटिक्स एवं बक्सिङ खेल पोखरामै आयोजना गरिने छ । त्यसपछि पोखरा रंगशालाभित्रैको भलिबल प्रशिक्षण केन्द्रमा भलिबल(महिला तथा पुरुष) प्रतियोगिता खेलाउन सकिने छ । उसुलाई पनि पोखरामै आयोजना गर्ने निर्णय गरिएको छ । ह्याण्डबलको लागि ९० लाखको कोर्ट नै तयार पारिसकिएको छ । हक्की खेलको लागि क्षेत्रीय खेलकुद विकास समितिले दुईवटा ठाँउलाई अध्ययन गरिरहेको छ । त्यो बाहेक पोखरामा स्वक्वास, सुटिङ, जिमन्याष्टिक, लन टेनिस, आर्चरी, क्रिकेट, सफ्ट टेनिस, साईक्लिङ, ट्रायथलन, शारीरिक सुगठन, प्याराग्लाईडिङ, गल्फ, पौडी, फेन्सिङ जस्ता प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको छ ।

ती खेलका लागि आवश्यक पुर्वाधार पोखरामा तयारी अवस्थामा छन् । पौडी पोखरी निर्माण गर्नुपर्ने खाँचो छ । आर्चरी, ट्रायथलन, प्याराग्लाईडिङ र गल्फको लागि पुर्वाधार बनिसकेका छन् । ट्रायथलनको एशियन कप तथा साउथ एशियन च्याम्पियनसिप पोखरामै सम्पन्न गरिसकिएको छ । हक्कीको लागि यसै आर्थिक वर्षभित्र सक्ने गरी उपलब्ध गराईएको बजेटबाट पुर्ननिर्माण गरिएको हेमजास्थित गौरीशंकर खेल मैदानलाई प्राथमिकतामा राखिएको छ । लेखनाथस्थित भण्डारढीक खेल मैदानमा पनि हक्की सञ्चालन गर्न सकिने सम्भावनालाई अध्ययन गरिरहेको क्षेत्रीय अध्यक्ष श्रेष्ठले बताए । पुर्वाधार निर्माणको लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले ५१ करोड ३० लाख रुपैयाँको बजेट अनुमानित गरिएको छ ।

kheladinews.com