ताजा समाचार

वैशाख २८ गते २०७६

पिपिरी गाउँले बालकको नोस्टाल्जिया : मीनराज बसन्त

उपन्यासकार मीनराज बसन्त आख्यान बजारमा चलेका लेखक हुन् । मुदिर उपन्यास आएको तीन वर्षमा अर्को उपन्यास पिपिरी आएपछि किताब बजारमा उनको उपस्थिति बलियो बनेर रहेको छ । अनलाइन तथा छापामा नियमित लेखिरहने उनी विशेषगरी आख्यान बिधामा कलम चलाउँछन् ।

फिनिक्स बुक्सबाट प्रकाशित उनको पछिल्लो उपन्यास `पिपिरी´ चैत महिनामा सार्वजनिक भएपछि देश बिदेशमा यो पुस्तकको चर्चा बढ्दै गएको छ । पुस्तकको परिचर्चा कार्यक्रममा दौरानमा लेखक बसन्त पनि व्यस्त छन् । गत साता उनी पिपिरी कै कार्यक्रमका लागि जापान पुगे । जापानमा पिपिरीको विमोचनसँगै परिचर्चा भयो । उनी त्यहाँ सम्मानित पनि भए । कविता, गजल लेख्दालेख्दै आख्यान लेखनमा लागेका उनी लेखनलाई पेशा बनाएर निरन्तरता दिन चाहन्छन् । नेपालदूतका लागि लेखराम सापकोटाले गरेको कुराकानी ।

१) जापानमा साहित्यिक समारोहमा सहभागी बनेर फर्किनुभएको छ । समग्रमा त्यहाँको साहित्यिक गतिविधि कस्तो रहेछ ?

जापानमा पनि नेपाली छन्, नेपाल छ । जहाँजहाँ नेपाली छन्, त्यहाँत्यहाँ नेपाली माटोको सुवास छ । नेपालीपन छ । संस्कृति छ । कला साहित्य छ । यसकारण जापानको साहित्यिक गतिविधि पनि उर्वरिलो र गतिशील छ ।

२) जापानमा लेखिएका रचना र प्रकाशित कृतिले नेपाली साहित्य जगतमा कुन किसिमको स्थान लिन सक्लान् ?

भूगोलको कुनै पनि कुनामा बसेर नेपाली भाषामा लेखिएका कृति समग्र नेपाली साहित्यका निधि हुन् । प्रत्येक सिर्जनाको आफ्नै स्थान र उचाइ हुन्छ । नेपालमा बसेर लेखे उत्कृष्ट हुने र प्रवासमा बसेर लेख्दा तिनको महत्त्व नहुने भन्ने हुँदैन । जापानलगायत अन्य देशमै बसेर पनि नेपाली साहित्यमा योगदान गरिरहेका लेखक छन् । गुणस्तरीयताका आधारमा तलमाथि होला तर सिर्जनात्मक रूपमा ती नेपाली साहित्यसँगै जोडिएर आउँछन् ।

३. जापानमा श्रम गर्न गएका नेपालीले कला-साहित्यका लागि कसरी समय व्यवस्थापन गरिरहेका रहेछन् ?

जापानमा पहिलो प्राथमिकता श्रम हो । हरकोही अफिस होइन काम जान्छन् । त्यही व्यस्त समयको चेपबाट सिर्जनाका झिल्काहरू निस्किरहेका छन् । कवि शिरोमणि लेखनाथ पौड्यालले भनेकै छन्- ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल । साहित्यमा रुचि राख्ने, माया गर्नेहरूले आफ्नै ढङ्गबाट समय मिलाइरहेका छन् । लेखिरहेका छन् । त्यहाँस्थित अनेसासले द्वैमासिक रूपमा सुन्ने सुनाउने शृङ्खला चलाइरहेको छ । लेख्नेहरूलाई जोडिरहेको छ । एउटा अभिभावकीय भूमिका खेलिरहेको छ अनेसासले ।

४) पिपिरीको प्रतिक्रिया कस्तो पाउनु भएको छ ? दोस्रो कृति आइसकेपछि एउटा लेखकले बहन गर्ने जिम्मेवारी कस्तो हुँदो रहेछ ?

पिपिरीबाट मिश्रित प्रतिक्रिया आइरहेका छन् । म आफैंलाई पहिलो कृति आउँदासम्म दोस्रो आउँछ कि आउँदैन भन्ने थियो । जब दोस्रो आयो यसपछि तेस्रो पनि पक्कै आउँछ भन्ने छ । पूर्णकालीन लेखनमै लाग्ने सोच भएपछि लेखकको महत्त्वपूर्ण जिम्मेवारी नै गम्भीर लेखन नै हो ।

५) मुदिर र पिपिरीका समानता र भिन्नता के के छन् ?

मुदिर वैदेशिक रोजगारी अन्तर्गत अरब मुलुक गएका नेपाली युवाहरूको प्रतिनिधि कथा हो । यसमा सुख छैन । कारण वैदेशिक रोजगारी कसैको सुख वा रहरको विषय होइन । हामीले यहाँ बसेर कल्पना गरेजस्तो पनि छैन त्यहाँ । यस्तै पिपिरीमा एक गाउँले बालकको बाल्यकालीन नोस्टाल्जिया छ । तर यो पनि सुखद कम छ । एकल महिलाले सन्तानका लागि घरपरिवार एवम् समाजसँग गरेको संघर्ष र बालकले आफ्नो आँखाबाट देखिएको समाज छ । उसको कष्टकर र रोमाञ्चक बाल्यकाल छ । तर यी दुवै विलासी कथा होइनन् । फरक यत्ति हो, मुदिरमा युवा कथा छ भने पिपिरीमा बाल्यकालीन ।

६) तपाईं कस्ता पाठकका लागि सिर्जना गर्न रुचाउनु हुन्छ ?

एउटा लेखकले लेखिसकेपछि सबै खालका पाठकले पढिदिउन् भन्ने लाग्छ । अर्थात् कुनै वर्ग, समूह वा समाज तोकेर लेखकले लेख्दैन । विषयगत रूपमा यस्ता कुरा आउलान् । तर लेखनका हिसाबले म सबै खाले पाठकलाई सोचेर लेख्छु ।

७) तपाईंले लक्षित गरेका पाठकले तपाईंको लेखनीबाट कुन किसिमको सन्तुष्टि प्राप्त गरिरहेका होलान् ?

यो त अझ पाठककै मुखबाट सुन्न पाए राम्रो हुन्थ्यो । सबै पाठक एउटै लेखकबाट सन्तुष्ट हुन्छन् भन्न म सक्दिनँ । कसैलाई विषय मन नपर्न सक्छ तर भाषा-शैली मन पर्छ । यस्तै कसैलाई के कसैलाई के मन परिरहेको हुन्छ । मैले सामान्य अनुमान के गरेको छु भने मलाई पढ्ने पाठक असन्तुष्ट हुँदैनन् ।

८) बजारले जहिल्यै फरक स्वाद खोजीरहेको हुन्छ । त्यो किसिमको लेखनी आम लेखकले किन दिन सक्दैनन् ?

बजारले त जहिल्यै फरक भन्दा पनि ‘बिक्ने माल’ खोज्छ । बजारलाई के चाहिन्छ भनेर लेखिने साहित्य, पुँजीवाद साहित्य हो । बरू गम्भीर पाठकले फरक स्वाद खोजिरहेका हुन्छन् । कतिले दिन सक्छन्, कसैले सक्दैनन् । यसमा गल्ती हामी लेखकको पनि होला । तर पनि हरेक लेखकको कोसिस केही फरक नै दिऊँ भन्ने नै हुन्छ । सबैले गर्ने कोसिस त्यही हो । यसो भन्दैमा फरक स्वादका किताब नै नआएका चाहिँ होइनन् ।

९) पछिल्लोपटक बजारमा थुप्रै किताब आएका छन् । लेखक पनि नयाँ नयाँ उदाएका छन् । तर बजारमा किताबको व्यापार खस्कँदो छ । किन होला ?

मोटामोटी उत्तर तपाईंकै प्रश्नमा छ । थुप्रै पुस्तक आउनु भनेको कम पढिनु पनि हो । कम पढिनु भनेको स्वत: बिक्री कम हुनु हो । म आफैं पनि विविध कारणले प्रकाशित सबै किताब पढ्न सक्दिनँ । सायद अरूको हकमा पनि यो नियम लागू हुन्छ होला । अर्को कुरा हामीकहाँ पाठक भन्दा लेखक धेरै भए । जसलाई पनि लेखक बन्ने लोभ छ । तर ती लेखकले अरूलाई पढ्दैनन् । यदि लेखकले मात्रै पढ्ने हो भने पनि बीस हजार प्लस कृति बिक्री हुनुपर्ने हो । किताबको पठन वा व्यापार जे भने पनि यो खस्किनुमा एउटा कारण सामाजिक सन्जाल पनि हो । फुर्सद भयो कि मोबाइलमा झुण्डिइहाल्ने, लाइक कमेन्ट गनेर बस्ने, अर्मपर्म गर्ने संस्कारले पनि पठन संस्कृतिमा ह्रास आइरहेको छ । हाम्रो उर्वर र ऊर्जाशील समय यसैले खाइरहेको छ ।

१०) पाठकलाई तपाईंको आगामी उपहार के हुन्छ अब ?

यो त भविष्यकै गर्भमा छ । केही न केही नलेखी बस्न त पक्कै नसकिएला । विधागत रूपमा पनि यही आउँछ भन्ने निश्चित छैन । हेरौं के लेख्ने जाँगर चल्छ ।


Loading...