ताजा समाचार

वैशाख २७ गते २०७६

पत्रकार महासंघले देशव्यापी आन्दोलन गर्ने, के के छन् कार्यक्रम ?

सरकारले ल्याएको सरकारले ल्याएको ‘नियन्त्रणमुखी मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।
महासंघका केन्द्रीय पदाधिकारी र सदस्यहरूको शुक्रबार सम्पन्न बैठकले प्रस्तावित विधेयक विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

मन्त्री परिषदवाट पारित भई संसदमा २६ बैशाखमा दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयक आफू र प्रेस काउन्सिलसहित सरोकार पक्षसँगको छलफल र सहमतिविना संसदमा दर्ता गरिएको आरोप लगाउँदै महासंघले विधेयकका प्रावधानहरूले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघको ठहर गरेको छ ।

बैठकले भनेको छ, ‘महासंघ उक्त विधेयक तत्काल फिर्ता लिई सरोकार पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी अन्तर्राष्ट्रिय मूल्य, मान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकारसँग जोडदार माग गर्दछ ।’

संसदमा विचाराधिन अवस्थामा रहेका विज्ञापन सम्वन्धी ऐन र सूचना प्रविधि सम्वन्धी ऐनमा राखिएको प्रेस स्वतन्त्रता विरोधी दफा सच्चाउन समेत महासंघले माग गरेको छ । मस्यौदा हुँदै गरेका आम सञ्चार ऐन र सार्वजनिक सेवा प्रसारण ऐनका सम्वन्धमा सबै सरोकारवाला पक्षसँग छलफल र सहमति कायम गर्न पनि उसले आग्रह गरेको छ ।

‘यी कानूनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोग, संरक्षण र संवद्र्धनका लागि महासंघ सरकार र सम्वद्ध सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ’, महासंघले भनेको छ ।
केन्द्रीय समितिको आकस्मिक बैठक अघि महासंघको आयोजनामा सञ्चार सम्वद्ध विभिन्न संघ, संगठन र संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग संयुक्त बैठक भएको थियो ।

सो बैठकबाट प्राप्त सुझाव समेतका आधारमा मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध महासंघले विरोधका कार्यक्रम तय गरेको महासचिव रमेश विष्टले बताएका छन् ।

जस अनुसार, २९ बैशाखमा महासंघका पूर्व पदाधिकारी, संचारमाध्यमका सम्पादक, कानूनविद र विज्ञहरूसँग छलफल हुनेछ भने ३० बैशाखमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

यसैगरी ३१ बैशाखका दिन संसदका सम्वन्धित समितिका सभापति र सदस्यहरूसँग छलफल, १ जेठमा कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने, महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयमा सरोकार पक्षबीच बृहद छलफल कार्यक्रम आयोजना गर्ने र ३ जेठमा काठमाडौँमा संसद वाहिर र जिल्लाहरूमा सदरमुकाममा सञ्चार साधनसहित बृहद प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।