ताजा समाचार

वैशाख २७ गते २०७६

अर्नाकोटमा अव छिट्टै विमान सरर

बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण हुने भएको छ ।

विमानस्थल निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार भएको हो ।

मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा ट्वीनअटर विमान आउजाउ गर्नसक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि ‘रियल पार्र्ट इञ्जिनीयरिङ कन्सल्टेन्सी’ले डिपिआर बनाएको इञ्जिनीयर गुरुप्रसाद अधिकारीले बताए ।

सात सय मिटर लामो रनवेसहित झण्डै एक किमी लामो मैदान बनाउन सकिने प्राविधिक टोलीले सुझाव दिएको छ । प्राधिकरणका प्राविधिकले अघिल्लो वर्ष स्थलगत अध्ययन गरेपछि कन्सल्टेन्सीमार्फत डिपिआर बनाउन दिएको थियो ।

उक्त कन्सल्टेन्सीले बनाएको डिपिआर प्राधिकरणलाई हस्तान्तण गरिएको अधिकारीले बताए । अर्नाकोट यो स्थान बुर्तिवाङ बजारदेखि पाँच किमी कच्ची सडकमा पुग्न सकिन्छ । ढोरपाटन सिकार आरक्षमा जाने साहसिक पर्यटक र घुम्न आउनेलाई पनि यो उपयुक्त हुने उनले बताए ।

आरक्षभित्र पनि दशकौँ अघि बनेको एयरपोर्ट छ । मर्मत र नियमित सञ्चालन नभएकाले तारबार लगाएर मात्र राखिएको छ । अर्नाकोटमा विमानस्थल बनाएमा पदमार्गमार्फत डेढ घण्टामा ढोरपाटन पुग्न सकिने युवा नेता द्रोण कुँवरले बताए । यो स्थान सदरमुकाम बागलुङबजारदेखि १०० किमी पश्चिममा पर्छ ।