ताजा समाचार

वैशाख २६ गते २०७६

सीताको मनोबल बढाउन विवाहोत्सव : प्रचण्ड

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी पत्नी सीता दाहालको मनोबल उच्च राख्न आफूले विवाहोत्सव मनाएको बताएका छन्। प्रचण्ड र सीता दाहालको विवाहको ५० औं वर्षगाँठका अवसरमा बिहीबार ललितपुरको सुनाकोठीमा आयोजित विवाहोत्सवमा संक्षिप्त सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्। प्रचण्डले डाक्टरहरुले पनि सीताको मनोबल उच्च राख्न सुझाएको स्मरण गरे।

प्रचण्डले भने, ‘मलाई विवाहोत्सवको खास मतलव थिएन। सीताले पनि अघिल्लो वर्षदेखि नै विवाहोत्सव मनाउनुपर्छ भन्दै आएकी थिइन्। छोरीहरुले पनि विवाहको उत्सव मनाउँदा आमाको मनोबल बढ्छ भने। त्यसैले परिवारको तर्फबाट यो कार्यक्रमको आयोजना गरिएको हो।’

‘तपाईहरु सबैलाई थाहा छ, केही वर्षदेखि सीताको स्वास्थ्यमा गम्भिर समस्या छ। मैले उपचारको क्रममा डाक्टरहरुसँग पनि सल्लाह गरें’ विवाह वर्षगाँठमा बोल्दै प्रचण्डले भने, ‘सीतालाई औषधिले मात्र निको हुँदैन। थेरापी गराउनुस्, उहाँलाई खुसी पार्ने काममा विशेष ध्यान दिनुस् भनें। यो कार्यक्रमले पनि उनको मनोबल बढेको छ।’

प्रचण्डले आफ्नो परिवारको दुखमा शुभेच्छुकहरुले दिएको साथको खुलेर प्रशंसा गरे। उनले भने, ‘बिहानैदेखि तपाई सबैले सीतालाई बधाइ दिनुभयो, शुभकामना दिनुभयो। त्यसले उहाँको मनोबल बिहानैदेखि बढेको छ। तपाईहरुले हाम्रो परिवारको दुखमा सधैं साथ दिँदै आउनुभएको छ। त्यसका लागि म र मेरो परिवारको तर्फबाट हृदयदेखि धन्यवाद दिन चाहन्छु।’

विवाहोत्सव कार्यक्रमलाई आफूलाई पनि उर्जा मिलेको प्रचण्डले बताए। उनले भने, ‘तपाईहरुको यो साथ, यो सद्भाव मेरा लागि पनि उर्जा हुनेछ। यसले देश र जनताका पक्षमा अझ धेरै काम गर्न प्रेरित गर्नेछ। बाँचुञ्जेल जनताका लागि समर्पित हुन उर्जाशील बनाइरहनेछ।’