ताजा समाचार

वैशाख २६ गते २०७६

जेठ ३ सम्म एकताका सबै काम सक्ने तयारी

सत्तारुढ नेकपाका शीर्ष नेताहरूले बाँकी एकता ३ जेठमा घोषणा गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा शीर्ष नेताहरू पार्टी एकताको वार्षिकोत्सव (३ जेठ) मा पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्य्विभाजन र जनसंगठनहरूको एकीकरण गर्ने सहमतिमा पुगेका हुन् । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको छलफलबाट तीनवटै विषय टुंगिएकाले केही दिनभित्रै घोषणाको तयारी भइरहेको बताए । अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल पनि सहभागी थिए ।

प्रधानमन्त्री ओली बिहीबार कम्बोडिया भ्रमणमा जाँदै छन् । १ जेठमा उनी फर्किएपछि सचिवालय बैठकबाट अन्तिम टुंगो लगाएर ३ जेठमा घोषणा गर्ने नेताहरूबीच समझदारी बनेको छ । तत्कालीन एमाले र माओवादी एकीकरण भएको ३ जेठमै एक वर्ष पुग्दै छ । सचिवालय बैठकबाट पारित नभइसकेकाले शीर्ष नेता सहमतिबारे खुलेर बोल्न चाहेका छैनन् ।

चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी एक सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने नेकपाको तयारी छ । पोलिटब्युरोमा साबिक एमालेबाट ८१ र माओवादीबाट ६६ जना रहने समझदारी अनुसार नेताहरूले सूची बनाएका छन् । एमालेबाट साबिक पोलिटब्युरो सदस्य बाहेक दुईपटक केन्द्रीय सदस्य भइसकेका मध्येबाट वरिष्ठताका आधारमा सूची तयार भएको छ ।

पूर्वमाओवादीबाट भने अध्यक्ष प्रचण्डले साबिक केन्द्रीय सचिवालय सदस्यमध्ये रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठसँगको परामर्शमा वरिष्ठताको मर्यादाक्रममा अगाडि रहेकालाई समेटेर सूची बनाएका छन् ।

स्थायी समितिका नेताहरूलाई केन्द्रीय विभाग, पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज, केन्द्रीय सदस्यहरूलाई सहइन्चार्ज र क्षेत्रीय इन्चार्ज तथा विभिन्न जनवर्गीय संगठन र प्रतिष्ठानको इन्चार्ज बनाउने गरी कार्य्विभाजनको प्रस्ताव बनिरहेको एक नेताले बताए ।

अध्यक्ष ओली, प्रचण्ड र वरिष्ठ नेता नेपालबीच जनसंगठनहरूमा दुईदेखि तीन जनासम्म सहसंयोजक राख्नेसमेत छलफल भएको छ । जनसंगठनको एकता गर्दा दुवैतर्फका अध्यक्ष र महासचिवलाई समेट्न सहसंयोजक पद सिर्जना गर्ने गरी नेता समझदारीमा पुगेको स्रोतले बतायो । २२ मध्ये पाँच जनसंगठनको मात्रै एकीकरण सम्पन्न भएको छ । नयाँ पत्रिका दैनिकबाट