ताजा समाचार

वैशाख २६ गते २०७६

सन्दीप लामिछाने आवद्ध दिल्ली पहिलो पटक नकआउट जित्न सफल

नेपाली युवा क्रिकेट ढुकढुकी सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स पहिलो पटक आइपिएल टी–२० क्रिकेटको नकआउट चरण जित्न सफल भएको छ । 

बुधबार राति भएको इलिमिनेटर खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै क्वालिफायरमा पुग्न सफल भएको हो । 

टस हारेर पहिले ब्याटिङमा आएको हैदरावादले ८ विकेटको नोक्सानीमा १६२ रन बनायो । मार्टन गुप्टिलले १९ बलमा ३६, मनिष पान्डेले ३०, विजय शंकरले ११ बलमा २५ तथा मोहम्मद नाबीले १३ बलमा २० रन बनाए । 

कीमो पलले ३ तथा इशान्त शर्माले २ विकेट लिए । जवाफमा आएको दिल्लीले छिनमा जित नजिक र छिनमा हार नजिक पुग्दापुग्दै रोमाञ्चक २ विकेटको जित निकाल्यो । 

दिल्लीले १९.५ ओभर खेल्दै ८ विकेटको नोक्सानीमा जित निकालेको हो । 

ओपनर पृथ्वी शाले ३८ बलमा ५६ तथा रिसभ पन्तले २१ बलमा ४९ रन बनाए । रसिद खान, भुवनेश्वर कुमार र खलिल अहमदले २–२ विकेट लिए । पन्त म्यान अफ द म्याच भए । 

दिल्लीले चौथो हारपछि पहिलो पटक नकआउट चरण जितेको हो । दोस्रो क्वालिफायरमा पुगेको दिल्लीले अब शुक्रबार चेन्नाई सुपर किंगससंग खेल्नेछ । 

चेन्नाईले पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससंग ६ विकेटको पराजय भोग्न वाध्य भएको थियो ।