ताजा समाचार

वैशाख २५ गते २०७६

आर्चरीको महिला र पुरुष पोखरामै

सागको लागि समय वर्षदिनभन्दा पनि कम समय छ । केही खेलको लागि पोखरालाई चयन गरिएको छ । आवश्यक पुर्वाधार धमाधम हुदैं छ । त्यही पुर्वाधारको रुपमा रहेको छ आर्चरी खेल मैदान । आर्चरीको साग गेम्स गर्न गृहकार्यसँगै मैदान निर्माणलाई फिनिसिङ दिनुपर्ने खाँचो छ । राष्ट्रिय खेलुकद परिषदकै झण्डै सवा दुई करोडको लागतमा भौतिक पुर्वाधारसहित मैदानको लेभलिङ भईसकेको छ । अब ग्रिनरी मात्रै बाँकी छ । ग्रिनरी गर्न माटो समेत थुपारिसकिएको छ । साग गेम्स सकिएको वर्षदिनपछि नै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु हुने छ । त्यही मैदानमा राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको आर्चरी महिला तथा पुरुषको इभेण्ट सञ्चालन गरिने छ ।

‘भौतिक पुर्वाधार तयार छ । बाँकी ग्रिनरी मात्रै हो ।’ कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले भने–‘ग्रिनरीको लागि माटो थुपारिसकिएको छ । सम्याएर दुवो रोप्छौं ।’ ९ हजार ५ सय स्क्वायर फिटको फराकिलो मैदानमा ग्रिनरी गर्नुपर्ने खाँचो छ । ग्रिनरीपछि आर्चरी संघले वृक्षरोपण गर्ने जनाएको छ । बृक्षरोपणले बातावरण नै हरियाली हुने र खेलाडीलाई समेत रिफ्रेसको अनुभूति हुने विश्वास गरिएको छ । राष्ट्रिय खेलकुद परिषदबाट विभिन्न मितिमा गरी २ करोड २४ लाख रुपैयाँ उपलब्ध गराईसकेको छ ।

उपलब्ध गराएको बजेटले भौतिक संरचना निर्माण गरिएको छ । भौतिक संरचनासँगै जोडिएको टे«निङ गर्ने ट्रस समेत हालिएको छ । पानी परेको अवस्थामा खेलाडीले त्यही ट्रसमा तार्गेट राखेर प्रशिक्षण गर्दै आएका छन् । परिषदले यही आर्थिक वर्षभित्र सक्ने गरी १० लाख रुपैयाँ उपलब्ध गराएको थियो । उपलब्ध गराएको बजेटबाट संघले चेन्जिङ रुम, शौचालय लगायतमा टायल राख्दै मर्मत सम्भार गरिएको जनाएको छ ।

‘चेन्जिङ रुम र शौचालयमा टायल हाल्यौं । १० लाख रुपैयाँ त्यही सिद्धियो ।’ संघका अध्यक्ष शेरचनले भने–‘सागमा आउने पाहुनालाई ध्यानमा राखी अब भवन रंगरोगन एवं ट्रेनिङ गर्ने ट्रस मुनि पार्केटिङ गर्नुपर्ने आवश्यकता छ ।’ चेन्जिङ रुममा गर्मी कम गर्न फल्स सिलिङको व्यवस्था गर्नुपर्ने खाँचो संघले औल्याईरहेको छ । त्यो सँगै आवश्यक आर्चरीका खेल सामाग्री थन्क्याउन स्टोर रुम समेत बनाउनुपर्ने आवाज उठाउँदै आएको छ ।

अध्यक्ष शेरचनले १३ औं साग गेम्सको लागि परिषदले अझै ७५ लाख रुपैयाँ विनियोजन गर्नुपर्नेमा बताएका छन् । ‘हामीलाई ७५ लाख रुपैयाँ उपलब्ध गराए साग गेम्सको लागि आवश्यक तयारी टुग्याउने छौं ।’ उनको भनाई थियो । उनले मैदानको एक साईडमा अस्थायी प्यारापिट समेत निर्माण गर्ने योजना रहेको सुनाए । ‘दर्शकलाई अस्थायी प्यारापिट बनाउने योजनामा छौंं ।’ उनले भने–‘अफिसियलले त्यहीबाट खेल प्रत्यक्ष हेर्ने छन् ।’

साग लगत्तै पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्नुपर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । आर्चरीमा विशेष गरी रिकर्भमा १८ मिटर (इण्डोर) ३० मिटर (स्टाण्डर्ड), ७० मिटर(ओपन)मा प्रतिस्पर्धामा हुने छ । कम्पाउण्ड तर्फ ५० मिटरमा प्रतिस्पर्धा हुने नेपाल आर्चरी संघका बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले जानकारी दिए । उनका अनुसार एकल, टिम र मिक्स्ड टिममा प्रतिस्पर्धा हुने छ । एक टिममा चार जना खेलाडी सहभागि हुन्छन् ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास लागि समितिलाई भने नवौं राष्ट्रिय खेलुकद प्रतियोगिताको आन्तरिक तयारी गरेको छ । तयारी स्वरुप समितिले ९० लाख रुपैयाको बजेट प्रस्ताव गरेको छ । मैदान मर्मत सम्भारदेखि अन्य विभिन्न संरचना तयार गर्नुपर्ने आवश्यकतालाई मध्य नजर गर्दै अनुमानित बजेट प्रस्ताव गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । पोखरा रंगशालाभित्रको आर्चरी मैदानमा झण्डै पाँच वर्ष अघि पोखराकै मैदानमा लुम्बिनी च्याम्पियनसिप आर्चरी प्रतियोगिता आयोजना गरिएको थियो । जतिबेला मैदान मात्रै निर्माण गरिएको थियो । भौतिक संरचना तयार भएको थिएन् । भौतिक पुर्वाधारसहितको मैदानमा भने राष्ट्रियस्तरको प्रतिस्पर्धा खेलाइएको छैन् ।

kheladinews.com