ताजा समाचार

वैशाख २५ गते २०७६

कास्कीमा दैनिक २५ हजार लिटर दूध भित्रिँदै, कहाँ–कहाँबाट आउँछ ?

कास्कीमा मागअनुरुपको दूध उत्पादन हुन नसक्दा अन्यत्रबाट रु ३० लाख मूल्य बराबरको दैनिक २५ हजार लिटरको हाराहारीमा दूध भित्रिने गरेको छ । यस जिल्लामा वार्षिक ७५ हजार १ सय ९८ मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । उपभोक्ताको मागलाई सो उत्पादनले पूर्ति नभएपछि उक्त परिमाणमा दूध भित्रिने गरेको हो ।

दूधको माग सबैभन्दा बढी पर्यटकीय नगरी पोखरामा छ । गण्डकी प्रदेशको राजधानी पोखराको जनघनत्वमा बृद्धि हुनुका साथै पर्यटक भित्रिने गरिएकाले पनि दूधको माग अत्यधिक हुने गरेको भेटेरिनेरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

जिल्लाको समग्र ग्रामीण क्षेत्रमा दूधको उत्पादन हुने गरेको भए पनि व्यावसायिक दृष्टिकोणले पोखरा महानगरपालिकाका वडा नं २९, ३० र ३३ का साथै माछापुच्छे« गाउँपालिकामा पनि ठूलो परिमाणमा दुध उत्पादन हुने गरेको बताइएको छ ।

दूधको मागलाई आपूर्ति गर्न सबैभन्दा बढी स्याङ्जाबाट भित्रिने गरेको छ । यसका साथै नवलपरासी र रुपन्देहीबाट भित्रिने गरिएको सो कार्यालयले जनाएको छ ।

दूध उत्पादक सहकारी संस्था २५ रहेको कास्कीमा ३ सय ९ गाईका फार्म र ३ सय ८३ भैंसीका फार्म अधिकारिक रुपमा दर्ता रहेका छन् । न्यूनतम ५ वटा गाई वा भैँंसी भएपछि फार्मको रुपमा दर्ता गर्ने गरिएको छ । कतिपय फार्ममा २ सय भन्दा बढी गाई तथा भैँंसी रहेका सो कार्यालयका प्रमुख ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

कास्कीमा किसानलाई पशुपालनतर्फ आकर्षित पार्नका लागि सरकारले अनुदान पनि दिने गरेको छ । गाई र भैंसी पाल्ने किसानको बस्तुस्थितिको अध्ययनका साथै प्रतिस्पर्धामा अनुदान दिने गरिएको हो । किसानको क्षमताअनुसार रु २ लाख ५० हजार, रु २ लाख र रु १ लाख ५० हजार रकम सरकारले अनुदान दिने गरेको छ ।

अनुदान रकम बराबरको रकम किसानलाई दिनुपर्ने नियम रहेको कार्यालय प्रमुख अर्यालले जानकारी दिनुभयो । सो कार्यालयले चालु आर्थिक वर्षमा ३९ फार्मलाई अनुदान दिने भएको छ । अनुदान दिएपछि कार्यालयले सो रकमको सदुपयोग भयो कि भएन् भन्ने विषयमा पटक÷पटक अनुगमणसमेत गर्ने गरेको बताइएको छ ।