ताजा समाचार

वैशाख २४ गते २०७६

मुस्ताङमा हाईअल्टिच्युड तालिम केन्द्र बनाउने निर्णय

ण्डकी प्रदेशको बहु चर्चित योजनाको रुपमा रहेको हाई अल्टिच्युड खेल तालिम केन्द्र बनाउन जग्गाको निक्र्यौल गरेको छ । प्रदेश सरकारले मुस्ताङ जिल्लामा हाई अल्टिच्युड तालिम केन्द्र बनाउने नीति तथा कार्यक्रममै पारित गर्दै अभियान पुरा गर्ने निष्कर्ष निकालेको छ । ‘मन्त्री परिषदको बैठकले मुस्ताङको वार्हगाँउ गाँउपालिकामा हाई अल्टिच्युड खेल तालिम केन्द्र निर्माण गर्ने पारित गरेको छ ।’ प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन–‘जग्गाको निक्र्यौल गरिएको छ । ठाउँको टुंगो लागेपछि विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने छौं ।’ हाई अल्टिच्युड ट्रेनिङ सेन्टर बनाउन प्रदेश मन्त्री परिषदको आईतबार बसेको बैठकले निर्णय गरेको हो ।

मुस्ताङको वारगुँ गाँउपालिकामा रहेको जग्गा नापी नभएको उनको भनाई थियो । जग्गाको भोगाधिकारको लागि पत्रचार गरिएको बताउँदै भोगाधिकारको प्राप्त भएपछि डिपिआर बनाउने मन्त्री पुनले सुनाईन् । ‘संघीय सरकारलाई भोगाधिकारको लागि पत्रचार गरिसकेका छौं’ उनले भनिन–‘पत्रको उत्तर जति छिटो आयो त्यति नै छिटो काम अगाडि बढाउँछौ ।’ प्रदेश सरकारले निक्र्यौल गरेको जग्गा समुद्री सतहदेखि ३ हजार ४ सय मिटरको उचाईको हाराहारीमा पर्छ ।

एक स्थानीय तह एक खेल मैदान, बहुउद्देश्यीय रंगशाला, क्रिकेट मैदान र गल्फ कोर्ष निर्माण गर्न प्रदेश सरकारले विभिन्न स्थलगत अध्ययन समेत गरिसकेको छ ।

प्रदेश सरकारले हाई अल्टिच्युड खेल तालिम केन्द्र बनाउन नीति तथा कार्यक्रम मार्फत १ करोड रुपैयाँ विनियोजन गरेको छ । विनियोजित रकमबाट डिपिआर बनाउन खर्च गरिने मन्त्री पुनको भनाई थियो । हाई अल्टिच्युड खेल तालिम केन्द्रको लागि फुटबल मैदान, स्वीमिङ पुल, क्लाईम्बिङ लगायतका पुर्वाधार तयार पार्ने योजना प्रदेश सरकारको छ । ‘जग्गाको भोगाधिकारको लागि लाग्नु पर्ने छ ।’ उनको भनाई थियो ।

वारगुँ गाउँपालिका वडा नं २ मुक्ति क्षेत्रमा रहेको खाली जग्गालाई नापी गर्नुपर्ने मन्त्री पुनको भनाई थियो । ‘जग्गा हाईअल्टिच्युडको लागि पर्याप्त हुन्छ ।’ उनले भनिन–‘के के बनाउने भन्ने डिपिआर पछि मात्रै थाहा हुन्छ ।’ प्रदेश सरकारको योजना महत्वकांक्षी देखिएको छ । योजनालाई पुरा गर्न स्रोत जुटाउने तर्फ प्रदेश सरकारको ध्यान गएको सामाजिक विकास मन्त्रालयले उल्लेख गरेको छ । ‘सपना ठूलो देखिएको छ । हाम्रो स्रोत छैन् ।’

मन्त्री पुनले भनिन–‘स्रोत जुटाउने हो जति सकिन्छ त्यति बनाउने हो ।’ प्रदेश सरकारले खेलकुद क्षेत्रको विकास र विस्तारको लागि विभिन्न योजना अघि सारेको छ । एक स्थानीय तह एक खेल मैदान, बहुउद्देश्यीय रंगशाला, क्रिकेट मैदान र गल्फ कोर्ष निर्माण गर्न प्रदेश सरकारले विभिन्न स्थलगत अध्ययन समेत गरिसकेको छ । खेलकुद विज्ञ टोली नै खडा गरेर गरिएको अध्ययन प्रतिवेदन समेत मन्त्रालयमा पेश गरिसकिएको छ । गण्डकी प्रदेश सरकारले पहिलो वर्षमै पाँच योजनालाई पाँच वर्षभित्रमा पुरा गर्ने अठोट लिएको छ । मुस्ताङ क्षेत्रमा सम्भाव्यता अध्ययन गरिएपनि त्यस ठाँउमा हाई अल्टिच्युड खेल तालिम केन्द्र बनाउने विषयमा निर्णय हुन सकेको थिएन् ।

संघीय सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आफनै निर्वाचन क्षेत्र कास्कीको पर्यटकीय गाँउ घान्द्रुकमा हाइअल्टिच्युड खेल तालिम केन्द्र बनाउन सम्भावित स्थलगत अध्ययन गरेर फर्किएका थिए । त्यसको लागि १५ लाख रुपैयाँ राष्ट्रिय खेलुकद परिषदबाट विनियोजन समेत भईसकेको छ । विनियोजित रकमबाट चारजना इन्जिनियरले फिल्ड सर्भे गरेका थिए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले भने ढोरपाटन क्षेत्रमा बनाउन उपयुक्त हुने अभिव्यक्ति दिएको थियो । तर मन्त्री पुनले ढोरपाटन क्षेत्रमा गल्फ कोर्ष बनाउन उपयुक्त हुने दावी गरिन् ।

‘ढोरपाटन क्षेत्रमा गल्फ कोर्ष बनाउन उपयुक्त देखिन्छ । यो मेरो व्यक्तिगत विचार हो ।’ मन्त्री पुनले थपिन् । संघीय सरकारले मनाङको तिमाङमा एक करोड ४१लाखको लागतमा फुटबल मैदानसहित पुर्वधार निर्माण गरेको छ । जसलाई हाई अल्टिचयुड टे«निङ सेन्टरको रुपमा विकास गर्ने योजना छ । मुक्तिनाथसम्म सहज यातायातको पहुँच रहेको मुस्ताङमा हाई अल्टिच्युड खेल तालिम केन्द्र बनाउन सकिए आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै स्पोर्टस टुरिज्मको विकास र विस्तार हुने विश्वास प्रदेश सरकारले लिएको छ ।

kheladinews.com