ताजा समाचार

वैशाख २३ गते २०७६

गणतन्त्र दिवस आम नेपालीले साझा चाडका रुपमा मनाउनु पर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस घरघर र परिवार परिवारमा आपसी सद्भावका साथ मनाउनुपर्ने बताएका छन् ।

गृह मन्त्रालयमा आज गणतन्त्र दिवस मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले गणतन्त्र दिवस मनाउने जनताले हेर्ने मात्रै नभई जनताको सहभागितामै मनाइनुपर्ने बताएका हुन् ।

उनले गणतन्त्र जनताले लडेर ल्याएको बताउँदै यो दिनलाई जनताले साझा चाडका रुपमा उत्साहसाथ मनाउनुपर्नेमा जोड दिए । केही तत्वले राजतन्त्र पुनःस्थापनाको माग गरिरहेको तर त्यो स्वीकार्य नभएको उनले स्पष्ट पारे ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अन्तरराष्ट्रिय प्रचलनअनुरुप भएको प्रतिक्रिया दिएका छन् ।

उनले मेरो देश, मेरो भाषा भनेजस्तै मेरो सरकार भनिएकोले यसलाई मेरो नीति भनिएको भनेर व्याख्या गर्न आग्रह गरेका छन् ।