ताजा समाचार

वैशाख २३ गते २०७६

एकताको सन्देश बाँड्न नेकपा र कांग्रेस वडाध्यक्षले लाए मित

रसुवा र सर्लाहीका स्थानीय तहका वडाध्यक्षले मितेरी साइनो गाँसेका छन्।

रसुवाको गोसाईकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष लाक्पा ग्याल्बो तामाङ र सर्लाहीको हरिवन नगरपालिका–११ का वडाध्यक्ष शेख महबुबले मितेरी साइनो गाँसेका हुन्।

चीनको केरुङ घुमघाम गर्ने क्रममा रसुवाको पर्यटकीय क्षेत्र बृद्धिम पुगेका महबुबले बिहीबार तामाङको निवासमा तामाङ परम्पराअनुसार मितेरी साइनो गाँसेका छन्। फरक क्षेत्र र फरक समुदायबीचको सम्बन्ध प्रगाढ बनाउन हिमाल र तराईबीच मितेरी साइनो गाँसेको महबुबले बताए।

दुई वडाध्यक्षले गाँसेको मितेरी साइनोले जातीय तथा क्षेत्रीय सम्बन्ध मात्र नभई पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा समेत सहयोग पुर्याउने वडाध्यक्ष तामाङको बुझाइ छ। यस्ता साइनोले एक अर्काको अनुभव आदानप्रदानमा समेत सहयोग पुर्याउने उनीहरुले बताए। मुसलमान र आदिवासी जनजातिबीचको यस मितेरी साइनो जातीय सदभावको अनुपम उदाहरण रहेको स्थानीयहरु बताउँछन्।

तामाङ नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुन् भने महबुब तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्। मित आपसी सम्बन्ध सुमधुर बनाउन लगाइन्छ। तर यो परम्परा पछिल्लो समय नेपाली समाजमा हराउँदै गएको छ।

यही हराउँदै गएको परम्परालाई जोगाउन , जातीय तथा भौगोलिक सद्भावका बढाउन तथा राजनैतिक सम्बन्ध सुदृढ गर्नको लागी मित लगाएर अरु राजनैतिक दललाई पनि सन्देश मिल्ने दुबैले प्रतिक्रिया दिएका छन् ।