ताजा समाचार

वैशाख २२ गते २०७६

ट्रिपरमा फोहोर लगी कालीखोलामा फाल्ने टप्स बोर्डिङलाई ५० हजार जरिवाना

स्कुलको फोहोर ट्रिपरमा लगेर कालीखोलामा फाल्ने टप्प बोर्डिङ स्कुललाई ५० हजार जरिवाना गराइएको छ । शनिबार बेलुका आएको ट्रिपरले फोहोर फालेको स्थानीयले देखेपछि जनप्रतिनिधि, स्थानीय र नागरिक समाजको पहलमा टप्सलाई जरिवाना गर्ने निर्णय भएको हो ।

पोखरा १० रामघाटमा रहेको टप्स स्कुलले ट्रिपरमा हालेर फोहोर पोखराको २० अन्तर्गत कालीखोलाको भीरमा फालेको स्कुलका सञ्चालक रत्नमान गुरुङले जनप्रतिनिधिसँग स्वीकारेका छन् । फोहरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम स्कुललाई ५० हजार जरिवाना गराउने निर्णय भएको पोखरा २० का वडाध्यक्ष सीम गुरुङले जानकारी दिए ।

आइतबार भएको छलफलमा टप्सका सञ्चालक रत्नमान आएर जिम्मेवारी लिएनन्, उनले प्रतिनिधिको रुपमा शिक्षक चित्र गुरुङलाई पठाए । सुरुमा पोखरा महानगरले १५ हजार जरिवाना लिने तयारी गरे पनि स्थानीयको विरोधपछि ५० हजार जरिवाना लिने निर्णय भएको हो । वडाध्यक्ष गुरुङ भन्छन्, ‘फालेको फोहोर सबै उठाएर लैजाने, आइन्दा यसरी नफाल्ने प्रतिवद्धता गराउँदै ५० हजार जरिवाना गराउने निर्णय भएको छ ।’

वृहत सफाइ अभियानका अभियन्ता रामबहादुर पौडेलले महानगरलाई नमुना बनाउन सबैले योगदान गर्नुपर्ने बताए । उनले शैक्षिक संस्था, अग्रणीहरुले सरसफाइको नेतृत्व गर्नुपर्नेमा सहरको फोहोर गाउँमा लगेर फाल्नु शोभनीय नभएको बताए ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।