ताजा समाचार

वैशाख २० गते २०७६

गुँडमा बुढी चरी, सन्तान समुन्द्र पारी

आज वैशाख कृष्ण औँशी हो । आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुसी बनाइन्छ । अचेल सन्तानहरु कि सहरतिर छन् कि विदेशतिर छन् । गुँडमा बुढी चरीझैं आमावा घरमा छन्, छोराछोरी निकै पर छन् । घर कुरुवा भएका छन्, कतिपय ठाउँमा अपहेलित पनि छन् ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँशीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ । पितृ ऋण तिर्न मातापितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने मृत्युपश्चात् श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ । आजको दिन दिवंगत आमाको सम्झनामा मातातीर्थ लगायत विभिन्न स्थानमा मेला लाग्छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।


आफूले नखाई–नखाई सन्तानको भोको पेट भर्छिन् । आफ्नो ज्यानको पर्वाह नगरी सन्तानको जीवन रक्षा गर्छिन् र मानव संसारको जीवनचक्र चलाउँछिन् ।

मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित एउटा कथा छ । कथा अनुसार धेरै वर्ष पहिले त्यस ठाउँमा गाईबस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्काे टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेको रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए ।

कथा अनुसार पहिलोचोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँशी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेहरूले औँशीका दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई त्यसको नाम मातातीर्थ राखे । यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले ।
आमाले अनेक कष्ट व्यहोर्दै ९ महिना गर्भमा राखेर शिशुलाई अन्न, जल र श्वाससँगै ममता, स्नेह र संस्कारले सिंचन गर्छिन्, कठोर प्रसव पीडा झेलेर सन्तानलाई पृथ्वीमा पदार्पण गराउँछिन् । आफूले नखाई–नखाई सन्तानको भोको पेट भर्छिन् । आफ्नो ज्यानको पर्वाह नगरी सन्तानको जीवन रक्षा गर्छिन् र मानव संसारको जीवनचक्र चलाउँछिन् । यही कारण आमालाई जगत जननी भनिन्छ । मानव जातिका लागि धर्तीले जति बोझ थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् भन्ने मान्यता छ । जसलाई हामी हरेक पीडामा पुकार गर्छौं ।

आमालाई मनदेखि नै माया गरौं, व्यबहारमा पनि गरेर देखाऔं । आफ्नी जन्म दिने आमालाई रुआउने, गाली गर्ने, चित्त दुखाउने ब्यक्ति संसारको सबैभन्दा ठूलो अधर्र्म, पाप हो । आमाको माया नगर्ने संसारमा कोही पनि छैनन् । मातृवात्सल्यले ओतप्रोत भएका सन्तानको भविष्य राम्रो हुने विभिन्न अध्ययनले देखाएको छ । सधैं सधंै आमाको अनुहारमा खुशी र आनन्द ल्याउन सके जीवन धेरै सार्थक र अर्थपूर्ण हुनेछ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।