ताजा समाचार

वैशाख २० गते २०७६

सभामुख महरा किन पुगे पाटन हस्पिटलमा ?

सभामुख कृष्णबहादुर महरा पाटन हस्पिटलमा पुगेका छन् । पाटन हस्पिटलमा उपचाररत पूर्वसांसद बर्मन बुढा मगरको स्वास्थ्य अवस्था बुझ्नको लागी सभामुख हस्पिटल पुगेका हुन् ।

थबाङ (रोल्पा) का अग्रज कम्युनिष्ट नेता बुढामगरसँगै सभामुख महरा तत्कालिन जनमोर्चा नेपालको तर्फबाट ०४८ को प्रतिनिधि सभामा विजयी भएका थिए।

थबाङलाई तत्कालिन माओवादीको किल्ला बनाउन भूमिका खेलेका पूर्व सांसद बुढामगरलाई माओवादी नेताहरुले निकै श्रद्धाका साथ व्यवहार गर्ने गरेका छन्।

शुक्रबार बिहान पाटन हस्पिटल ललितपुर पुगी महराले पूर्वसांसद बुढालाई सान्त्वना दिनुका साथै स्वास्थ्य लाभको कामना गरेका हुन्।

पेटमा समस्या देखिएपछि हिजो पाटन हस्पिटलमा भर्ना गरिएको र अहिले प्रारम्भिक उपचार चलिरहेको बुढाकी छोरी विजयज्योतीले बताइन्।

सो क्रममा सभामुख महराले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरत कुमार यादव र डाक्टरहरुको टोलीलाई भेटी ९० बर्ष पुगिसकेका पूर्वसांसद बुढालाई उपचारमा कुनै कमी हुन नदिन अनुरोध गरेका थिए।