ताजा समाचार

वैशाख १९ गते २०७६

नेपालमा पहिलो पटक मानिसमै पनि बर्ड फ्लु फेला, एक युवकको मृत्यु

नेपालमा अधिकांश कुखुरामा मात्र हामीले बर्डफ्लु भएको देखेको र सुन्दै आएका छौ तर नेपालमै मानिसमा पनि बर्डपm्लुका कारण मृत्यु भएको फेला परेको छ ।

काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लु (एच फाइब एन वान) फेला परेको हो।नेपालमा बर्ड फ्लु पुष्टि भएको यो पहिलो घटना हो। स्वास्थ्य सचिव डा पुष्पा चौधरीका अनुसार यो अप्रत्यासित घटना हो।

ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए। उनको र्‍यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो। तर, श्वासप्रश्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो। उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्‍यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएन।

त्यसपछि उक्त नमुना परीक्षणका लागि जापान पठाइएको थियो। उक्त नमुनाको नतिजा वैशाख १७ गते मंगलबार नेपाल आएको थियो। नमुनामा बर्ड फ्लु (एच फाइब एन वान)भएको उल्लेख थियो।

त्यसपछि यो खबर कसरी बाहिर ल्याउने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयमा जानकारी गराइएको थियो। घटनाको जानकारी गराउन आज स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरिएको हो। ती मृतकको नाम भने खुलाइएको छैन।