ताजा समाचार

वैशाख १८ गते २०७६

क्विक्स अन्तरस्कुल छात्रछात्रा राष्ट्रिय प्रतियोगितालाई चौधरी ग्रुपको साथ

अखिल नेपाल फुटबल संघ (एन्फा) को विद्यालयस्तरीय फुटबल प्रतियोगितालाई चौधरी ग्रुपले प्रायोजन गर्ने भएको छ ।

चौधरी ग्रुपको प्रमुख प्रायोजनपछि क्विक्स अन्तरस्कुल छात्रछात्रा राष्ट्रिय प्रतियोगिताको रूपमा आयोजना हुनेछ ।

जेठको दोस्रो वा तेस्रो सातादेखि हुने अन्तरस्कुल फुटबल ४ महिनासम्म चल्ने एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जनाए । एन्फामा आबद्ध ४८ र थप ४ गरी ५२ जिल्लाको सहभागिता रहने प्रतियोगितामा कुल १ हजार ५ सय विद्यालयले प्रतिस्पर्धी बन्ने छन् ।

जिल्लामा छनोट प्रतियोगिता भइसकेपछि प्रदेशस्तरीय हुनेछ । प्रदेशबाट छनोट भएका १६ स्कुलबीच राष्ट्रिय प्रतियोगिता हुने अध्यक्ष शेर्पाले जनाए । विजेताले ५ लाख, उपविजेताले ३ लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ पाउने छन् । १६ वर्षमुनिका खेलाडीले प्रतियोगिता खेल्न पाउने छन् ।

चौधरी ग्रुप र एन्फाबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौताअनुसार प्रतियोगिता सञ्चालन गर्न चौधरी ग्रुपले एन्फालाई पहिलो वर्ष ५५ लाख उपलब्ध गराउने छ । प्रवर्द्धनको सम्पूर्ण पाटो चौधरी ग्रुपले हेर्नेछ । पाँचवर्षे सम्झौताअनुसार प्रतिवर्ष ५ लाखका दरले रकम वृद्धि हुनेछ ।