ताजा समाचार

वैशाख १८ गते २०७६

उपराष्ट्रपति पुन अव ‘ग्रीन हाउस’ मा

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबारदेखि निवास सरेका छन्।

उपराष्ट्रपति पुन हाल बस्दै आएको गैह्रीधारास्थित सरकारी निवासबाट लैनचौरस्थित उपराष्ट्रपति भवन ‘ग्रीन हाउस’मा सरेका हुन्।

मन्त्रिपरिषद्को गत भदौ २१ को बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि (उपराष्ट्रपति भवन) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

वातावरणमैत्री हरियो रङले रङ्ग्याइएको उक्त भवनलाई ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ। सामान्य मर्मत सम्भारपछि उपराष्ट्रपतिज्यू सरेका हुन्। उपराष्ट्रपति भवनको मर्मतको काम बाँकी रहेकाले कार्यालय भने केही दिनपछि मात्रै सर्ने उपराष्ट्रपति कार्यालयले जनाएको छ।

उपराष्ट्रपतिको कार्यालय हाल निर्वाचन आयोगको भवनभित्रै रहेको छ। यसअघि उपराष्ट्रपतिको निवास र कार्यालय फरक–फरक स्थानमा भएकोमा अब एकै स्थानमा हुनेछ।