ताजा समाचार

वैशाख १८ गते २०७६

मजदूरप्रति सरकार अनुदार : नेता आचार्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले वर्तमान सरकार मजदुरको हक अधिकारप्रति अनुदार देखिएको बताएका छन् । उनले मजदुरको साथ लिएर अघि बढ्ने तर पछि माथि पुगेपछि तिनै मजदूरमाथि दमन गर्ने नीति वर्तमान सरकारले गरिरहेको आरोप लगाए ।

विश्व श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको श्रमिक सभामा नेता आचार्यले ओली सरकारले मजदुरको हकहितको कुरा ठूला ठूला गरेको तर काम केही नगरेको बताए । उनले मजदुरको सामाजिक सुरक्षाकोष २०५४ मा कांग्रेस सरकारले थालनी गरेको भए पनि त्यसको सदुपयोग गर्नमा वर्तमान सरकार गैरजिम्मेवार भएको आरोप लगाए ।

उनले प्रेसमाथि निरन्तर हमला गरेर प्रेस स्वतन्त्रता अभिव्यक्तिलाई कुञ्ठित पार्ने काम गरेको भन्दै त्यस विरुद्ध सबै श्रमजीविहरू लाग्नुपर्नेमा जोड दिए । कम्युनिष्ट सरकार भएको मुलुकमा मजदुर र श्रमजीवि अधिकार सुरक्षित हुन नसक्ने भन्दै नेता आचार्यले मजदुरले त्यसको विरुद्ध खवरदारी गरिरहनुपर्ने खाँचो औंल्याए । उनले प्रेस स्वतन्त्रता, मानव अधिकार र न्यायपालिकामाथि नांगो हस्तक्षेप गरेर सरकार निरंकुशतातर्फ उन्मुख भएको बताए ।

सरकारको अकर्णमण्यताका कारण सबै क्षेत्र तहसनहस भएको भन्दै पूर्वमन्त्री आचार्यले निर्मला पन्तको हत्यारा अझैसम्म पत्ता लगाउन नसक्नु २ तिहाइको सरकारको उद्देश्य छर्लङ्ग भएको बताए ।

युनियनका सल्लाहकार रामजी कुँवरले पार्टीमा मजदुरका लागि छुट्याइएको कोटा काटिनु विडम्वना भएको भन्दै मजुरका लागि कांग्रेसले जति गर्नुपर्ने हो गर्न नसकेको बताए ।

युनियनका राष्ट्रिय उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले मजदुरहरु पनि मूलधारको राजनीतिमा आउन आवश्यक रहेको बताए ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीले कांग्रेसले गर्ने प्रत्येक आन्दोलनमा मजदूरको भूमिका महत्वपूर्ण रहेको बताए ।

गण्डकी प्रदेशसभा सदस्य ललितकला गुरुङले तल्ला तहका मजदुरसम्म युनियन पुग्न जरुरी रहको बताइन् ।

युनियनका राष्ट्रिय समिति सदस्य जितबहादुर गुरुङले पार्टी एकढिक्का भए सबै संगठन पनि एक ढिक्का हुँदै पार्टीको निर्देशन दिए जस्तोसुकै बलिदान दिन मजदुरहरु तयार हुने बताए ।

युनियन कास्कीका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी समिति अध्यक्ष मुरारी शर्मा, सचिव रुद्र तिमिल्सिना लगायतले बोलेका थिए ।

सभा अघि पृथ्वीचोकबाट शुरु भएको विशाल र्याली न्यूरोड, विपिचोक, महेन्द्रपुल हुँदै गैह्रापाटन पुगेर कार्यक्रममा परिणत भएको थियो ।