ताजा समाचार

वैशाख १८ गते २०७६

नारामामात्र सीमित नहोस् मजदुर दिवस

मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस आज विश्वभर मनाइँदैछ । सन् १८८६ मे १ को दिन ८ घन्टा काम, ८ घन्टा विश्राम र ८ घन्टा मनोरञ्जनको माग राख्दै अमेरिकाको सिकागो सहरका मजदुरले सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झना गर्दै सन् १८९० मे १ देखि मे दिवस मनाउन थालिएको हो । मे दिवस श्रमिकहरूको महान् चाडको दिन पनि हो । विश्वका मजदूरहरू एकजुट हौँ भन्ने सन्देशसहित मनाइँदै आइएको यस दिवस मनाइरहँदा विश्व परिस्थिति पूरै बदलिएको छ । श्रमको सम्मानका लागि मनाइने यो दिवसबारे स्वयं मजदूरहरू नै अनभिज्ञ छन् । अहिले पनि मजदूरको परिभाषा फेरिएको छैन । मजदूर भन्नाले ज्यादै विपन्न वर्गका शारीरिक श्रम गर्ने व्यक्तिका रुपमा लिइन्छ । त्यो विल्कुलै गलत कुरा हो ।

अहिलेको परिस्थितिमा सीप, क्षमता र उच्च दक्षता भएका व्यक्तिलाई मजदूर भन्नुपर्ने भएको छ । सीप नभएका व्यक्ति मजदूर बन्न नसक्ने अवस्था आइसकको छ । सूचना प्रविधिको उच्चतम प्रयोगका कारण मजदूरको भूमिका र कामको स्वरुप बदलिएको छ । अहिले कुनै पुँजीपतिको विरोधमा र्याली र जुलुस निकाल्नु पर्दैन । बरु पुँजीपतिहरूलाई उद्योग कलकारखाना खोल्न प्रेरित गर्नुपर्ने समय आइसकेको छ । एक्काइसौँ शताब्दीमा प्रवेश गर्न लागिसक्दा पनि अझै पनि मजदूरले पुँजीपतिका विरुद्ध नारा लगाउनु आवश्यक छैन । श्रमको सम्मान गर्न सहयोग पुग्ने खालका कार्यक्रम गरी मे दिवस मनाउनु उपयुक्त हुन्छ ।

बितेका केही दशकमा मजदूर र उद्योगीबीच द्धन्द्ध बढेको थियो । मजदूरको समस्या उद्योगीले सम्बोधन नगर्ने र मजदूर युनियनका कारण उद्योग कलकारखाना सञ्चालन गर्न नसक्ने अवस्थाबीच द्वन्द्व बढी नै भए । उद्योगहरूमा बन्द हडताल भइरहँदा मुलुकमा लोकतन्त्र स्थापना भइसक्दासमेत मजदूरहरूले लोकतन्त्रको अनुभूति गर्न सकेनन् । उद्योग, कलकारखानामा अहिले मजदूरको समस्या त्यति देखिँदैन । जति समस्या सरकारी कार्यालयमा छ । सरकारी कार्यालयहरूमा विभिन्न युनियनको राजनीतिका कारण सेवाग्राहीले सहज सेवा पाउन सकिरहेका छैनन् । मजदूरहरूको भन्दा बढी तलबभत्ता र सेवासुविधा पाए पनि कर्मचारीहरूले युनियन बनाएर कार्यालयको कामकारबाही प्रभावित गरिरहेका छन् । समाजले श्रमको सम्मान गर्न सकेमात्रै समुन्नत राष्ट्रको परिकल्पना गर्न सकिन्छ ।

नेपालमा मजदूर दिवस मनाइन थालेको यतिका वर्षसम्म पनि समाजले श्रम गर्नेहरूको उचित मूल्यांकन गर्न सकेको छैन । मानिस कामले सानो र ठूलो हुने होइन । उसको आचरण र विवेकले नै मानिसको वर्गीकरण हुन सक्छ । जुनसुकै क्षेत्रमा काम गरे पनि आत्मसम्मान र श्रमप्रतिको सम्मान हुनुपर्छ । श्रमलाई सम्मान गर्नेलाई प्रोत्साहन गरी उनीहरूबाट समाजमा सकारात्मक सन्देश प्रवाह गरिनुपर्छ ।

सकारात्मक चिन्तनले नै समाजलाई सही मार्गमा डोर्याउन मद्दत पुर्याउँछ । समुन्नत समाज निर्माण गर्न सर्वप्रथम हरेक क्षेत्रबाट विभेदको अन्त्य गरिनुपर्छ । मानिसले मानिसलाई सम्मानपूर्वक व्यवहार गरेमात्रै पनि विभेद हटाउन सकिन्छ । जहाँ श्रमको सम्मान र कदर हुन्छ, त्यहाँ नै समानता हुन्छ । देशलाई विकसित र समृद्ध बनाउन हरेक नागरिकको मनमा आत्मसम्मान र श्रमको सम्मान हुनैपर्छ । त्यसैले स्वदेशमै आत्मसम्मानपूर्वक श्रम गर्ने वातावरण सिर्जना गरी श्रमिक दिवस मनाउनु जरूरी छ ।