प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मिन विश्वकर्माले नेकपाका महासचिव विष्णु पौडेलले सबै सेटिङ मिलाएबापत बालुवाटार प्रकरणमा ८ आना जग्गा बकस पाएको आरोप लगाएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पौडेलमाथि यस्तो आरोप लगाएका हुन् । ‘मैले सुनेको चाहीँ उहाँले सबै सेटिङ मिलाएकोले त्यो ८ आना जग्गा बकस पाउनु भएको हो । अनि कसको नाउमा राखौं भनेर सोध्दा उहाँले आफ्नो नाममा राख्दा नराम्रो सन्देश जान्छ र अर्काको नाममा राख्दा सुरक्षित नहुने भएकोले छोराको नाममा राख्नुभएको हो अरे ।’
उनले ललिता निवासलाई मोही कायम गर्न लाखौं÷करोडौं खर्चिएका भूमाफीयाहरुले विष्णु पौडेलको कारण आफूहरु फसेको गुनासो गरेको पनि दाबी गरेका छन् ।
सार्वजनिक जग्गा प्रकरणमा मुछिएपछि पौडेलले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने उनको तर्क थियो । ‘सरकारी जग्गा हडप्न किर्ते गर्नेहरु, गैरकानूनी ढंगले सरकारी जग्गाहरु कब्जा गर्ने सबैजना दण्ड, सजायको भागीदार हुनुपर्छ ।’ समाजको रोल मोडल भएकोले विष्णु पौडेललाई यो प्रकरणमा दोब्बर, तेब्बर र विशिष्ट ढंगको सजाय गर्नुपर्ने पनि विश्वकर्माले माग गरे ।
प्रधानमन्त्रीलाई समेत मुछ्दै उनले केपी शर्मा ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थालेको अर्को गम्भिर आरोप लगाए । उनले भने,‘दुर्वशा ऋषिले खान्न भन्दाभन्दै लड्डु खाएजस्तै ओलीजी पनि सबै खानुभयो ।’






