नेविसंघको शैक्षिक हड्ताल फिर्ता (विज्ञप्तिसहित)


नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्कीले कास्कीमा आह्वान गरेको अनिश्चितकालीन शैक्षिक हड्ताल फिर्ता लिएको छ ।

पोखरा विश्वविद्यालयमा आन्दोलनका क्रममा नेविसंघका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । नेविसंघले त्यसको विरोध र आफ्ना नेता कार्यकर्ताको विनाशर्त रिहाईको माग गर्दै कास्कीमा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा गरेको थियो ।

नेविसंघले शैक्षिक हड्ताल घोषणा गरेसंगै प्रहरीले पक्राउ गरेका नेविसंघका नेता कार्यकर्तालाई रिहाइ गरेको थियो । त्यसपछि नेविसंघ कास्कीका अध्यक्ष विकास थापाले एक विज्ञप्ति प्रकाशित गरि आफ्ना नेता कार्यकर्ता रिहाइ भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जानकारी दिए ।

नेविसंघ नेता भानु ढकालले ३ महिनाको निरन्तर आन्दोलन पश्चात पोविवि प्रशासनले वार्तामा बोलाएको र प्रहरीद्धारा पक्राउ परेको नेता कार्यकर्ता विनाशर्त हिराई भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी दिए ।

विश्वविद्यालयमा वेथिति र अनियमितता भएका भन्दै नेविसंघ लगायत अन्य संगठनका विद्यार्थी आन्दोलित भएका थिए ।

यसबैबीच पोखरा विश्वविद्यालय प्रशासनले पनि आन्दोलनरत विद्यार्थी संगठनलाई वार्तामा बोलाएको छ । विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले सोमबार राति विज्ञप्तिमार्फत आन्दोलनरत विद्यार्थी संगठनलाई मंगलबार दिउसो १ बजे वार्तामा बोलाएको छ ।