नेपाल मार्सल आर्ट्स हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तिमगर अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् ।
जर्मनको म्युनिखमा भएको १२औँ म्युनिख हल अफ अनरमा आयोजित ‘हाप्किडो मास्टर अफ दी इयर अवार्ड’ बाट उनि सम्मानित भएका हुन् ।
उक्त अवार्डमा नेपाल मार्सल आर्ट्स हाप्किडो संघका प्रमुख प्रशिक्षक तथा नेपाल उशु संघका कोषाध्यक्ष लानम लामा पनि इन्स्ट्रक्चर अफ द इयरद्वारा सम्मानित भएका छन् ।
मार्सल आर्ट्स विशिष्ट ओस्कारको रूपमा परिचित म्युनिख हल अफ अनर प्रत्येक वर्ष जर्मनीको म्युनिखमा विशाल आयोजना हुने गर्दछ । विश्वभरिको ग्रान्डमास्टर, मास्टर, एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका साथै प्रशिक्षकहरूलाई म्युनिख हल अफ अनरबाट सम्मानित गरिँदै आएको छ ।
त्यसका लागि ग्रान्डमास्टरहरूको छनोट समितिले गरेको सिफारिसको आधारमा अवार्डबाट सम्मान गरिने हाप्किडो संघले जनाएको छ । सम्मानित घर्तिमगर मार्सल आर्ट्स हाप्किडोका सातौं डान प्राप्त खेलाडी हुन् ।
लानम लामाले हाप्किडोको पाचौं डान प्राप्त गरेका छन् । साथै अवार्डबाट सम्मानितद्वय घर्तिमगर र लामा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स हाप्किडो मास्टर र इन्स्ट्रक्चर साथै ‘ए’ लेभल रेफ्री पनि हुन् ।
यसअघि पनि अध्यक्ष घर्तीमगरले विभिन्न देशहरूबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड तथा सम्मानित भइसकेका छन् ।




