पौडेल र कोइराला उपस्थित सभा देउवाले गरे बहिष्कार !

रौतहटको राजपुर नगरपालिकामा कांग्रेसले शनिबार गरेको आमसभामा पार्टी सभापति शेरबहादुर देउवा उपस्थित भएनन् । एकसाता अघिदेखि आमसभामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा।शशांक कोइराला आउने प्रचार गरिएको थियो।

स्वागत गर्न बनाइएको द्वारमा तीनै जना नेताको तस्बिर राखिएको थियो। सभापति देउवाको समय मिलाएरै कार्यक्रम तय भएको थियो। प्लेन टिकटसमेत काटिएको थियो तर देउवा आएननु । तीन नेतालाई एउटै मञ्चमा राखेर कांग्रेस भित्रको विवाद अन्त्य भएको सन्देश दिने उद्देश्यले कार्यक्रम राखिएको हो ।

विशाल आमसभा भनिए पनि रौतहट जिल्ला सभापति कृष्णप्रसाद यादव तथा उनी पक्षधर नेता–कार्यकर्ता कार्यक्रममा सहभागी भएनन्। रौतहट कांग्रेस जिल्ला सभापति यादव र सांसद मो।अफ्ताव आलमको अलग अलग गुटमा विभाजित छ। जिल्ला कार्यसमितिलाई बाइपास गरिएकाले कार्यक्रममा सहभागी नभएको सभापति यादवले प्रतिक्रिया दिए।

आमसभामा महामन्त्री डा।शशांक कोइरालाले पार्टी एक भए अर्को चुनावमा ठूलो पार्टी बन्ने दाबी गरे। कांग्रेसलाई एक बनाउन कार्यकर्ता लाग्नु पर्नेमा उनले जोड दिए।
वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ ढंगबाट पार्टीलाई लैजानु पर्ने, आफैँ भित्र सत्यको खोजी गर्नुपर्ने बताए।