खुलामञ्चका सटरमाथि यसरी लगाईयो डोजर ?

- उपमेयर खड्गीमाथि आक्रमणको प्रयास

 खुलामञ्चसमेत अतिक्रमण भएपछि यसको चौतर्फी बिरोध भयो । खुलामञ्च कब्जा गर्ने जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिकासँग गरेको सम्झौतामा किर्ते भएको समेत खुलासा भएको छ ।

खुलामञ्चमा राजनीतिक दलकै आडमा खुलामञ्चमा व्यापारिक सटर निर्माण गरेको आरोप लागेको थियो । जसमा मेयर र उपमेयर दुबै पनि मुछिएका थिए । उनीहरु दुबैले एक अर्कामाथि आरोप पनि लगाए । चर्काे आलोचनाकाबीच काठमाडौँ महानगरपालिले खुलामञ्च अतिक्रमण गरी निर्माण गरिएको सटरहरु भत्काउने समेत बताएको थियो ।

यसैबीच आज शनिबार कामपाले खुलामञ्चमा बनाइएका सटरहरुमाथि डोजर चलाएको छ । महानगरपालिकाले डोजर चलाएर सटरहरु भत्काएको हो ।काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काउन सुरु गरेको हो । जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले खुला मञ्चमा ५१ वटा सटर निर्माण गरेको थियो ।

नगर प्रहरीले एकाएक डोजर लगाउँदा व्यापारीहरु भने आफ्नो सामानको जतन गर्न तर्फ लागे भने कोही सामान सार्न समय पनि नदिई सटर भत्काएको भन्दै बिरोध गरिरहे तर डोजर चल्न भने छाडेको थिएन । जानकारी नै नदिई डोजर चलाएको भन्दै व्यापारीहरु आक्रोसित भएका थिए भने उनीहरुले चर्का चर्का आवाजमा बिरोध गरिरहेका थिए ।

काठमाडौं महानगरपालिकाकी उपमयेर हरिप्रभा खड्गीमाथि आक्रमणको प्रयास भएको छ । काठमाडौं महानगरपालिले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि उपमेयर खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् । 

उपमेयर खड्गी केही साताअघि सोही ठाउँमा पुगी निर्माणधिन अवस्थामा रहेको सटरहरुको अवलोकन गर्दै व्यवसायीहरुलाई सल्लाह सुझाव दिएकी एक आक्रोशित व्यवासायीले बताए । 

तर, आज उक्त ठाउँमा डोजर परिचलन गरेर सटर भत्काइसकेपछि पुगेकी उपमेयर खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् । 

डोजर चल्दा चर्को सलामी तिरेर सटर भाडामा लिएका व्यवसायीहरुले उपमेयर खड्गीमाथि आक्रमणको प्रयास गरेका हुन् । सो क्रममा व्यवसायीहरुले समाचार संकलनमा पुगेका पत्रकार समेतलाई आक्रमणको प्रयास गरेका थिए ।