आइतबार नेपाल-मलेसिया भिडन्त, कस्ले जित्ला ?

थाईल्याण्डमा जारि एसीसी अन्डर १६ इस्टर्न प्रतियोगिताको उपाधिको लागि नेपालको प्रतिद्वन्द्वी मलेसिया हुने भएको छ । शनिबार सम्पन्न सेमीफाइनल खेलमा नेपालले हंगकंगलाई ४ विकेटले तथा मलेसियाले सिंगापुरलाई ५८ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

मलेसियाले पहिले ब्याटिंग गर्दै दिएको १७१ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुरले १ सय १३ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो । यस अघि सम्पन्न सेमीफाइनलमा हंगकंगले दिएको ८७ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पुरा गरेको थियो । नेपाल र मलेसिया बीच फाइनल खेल आइतबार नेपाली समय ९ः१५ बजे खेलिनेछ ।

प्रतियोगिताको नेपाल डिफेन्डिङ च्याम्पियन हो । २०१७ मा नेपालले सिंगापुरलाई पराजित गर्दै उपाधि जितेको थियो । यो पटक उपाधि रक्षा गर्ने बाटोमा अब नेपालले नयाँ प्रतिद्वन्द्वी पाउने भएको छ ।

नेपाल र मलेसिया समूह चरणमा एकै समुहमा थिए । नेपाल समुह विजेताको रुपमा र मलेसिया उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो । यस क्रममा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।

समूह चरणमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो । मलेसियाले प्रतियोगिताको समूह चरणमा थाईल्याण्डलाई ७ विकेटले तथा म्यानमारलाई ८ विकेटले पराजित गरेको थियो । नेपालसंग पराजित हुने क्रममा पहिले ब्याटिंग गर्दै नेपालले बनाएको १ सय ४१ रनको जवाफमा १ सय २ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो ।

इतिहासमा नेपाल–मलेसिया अन्डर १६
नेपाल र मलेसियाले अन्तिम पटक एसीसी यु १६ (पूर्वी) प्रतियोगिताको अघिल्लो संस्करण २०१७ मा प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा नेपालले ७२ रनको जित हाँसिल गर्दै फाइनलमा प्रवेश गरेको थियो । खेलमा पहिले ब्याटिंग गर्दै नेपालले १२८ रनको लक्ष्य दिएको थियो र लक्ष्य पछ्याउने क्रममा मलेसिया ५५ रनमा अलआउट हुन पुगेको थियो । २०१६ एसीसी यु १६ (पूर्वी) प्रतियोगिता नेपालले जितेको थियो ।

त्यस अघि नेपालले सन् २०१४ को एसीसी यु १६ मा पनि मलेसियालाई ३२ रनले पराजित गरेको थियो । पहिले ब्याटिंग गर्दै नेपालले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया १ सय २९ रनमा अलआउट भएको थियो ।
सन् २०१० को एसीसी यु १६ इलाइट कपमा पनि नेपाल ३२ रनले विजयी भएको थियो । टियु मैदानमा सम्पन्न खेलमा नेपालले पहिले ब्याटिंग गरे दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले १ सय ३० रन मात्रै बनाउन सकेको थियो ।