नेपाल फाइनलमा, यसरी हरायो हंगकंगलाई

थाईल्याण्डमा जारी एसीसी अन्डर–१६ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा हंगकंगलाई ४ विकेटले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको नेपाल डिफेन्डिङ च्याम्पियन हो र २०१७ मा सम्पन्न भएको अघिल्लो संसकरणमा सिंगापुरलाई पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

प्रतियोगिताको फाइनल खेल भोलि आइतबार खेलिनेछ । फाइनलमा नेपालले दोस्रो सेमीफाइनलमा मलेसिया र सिंगापुर बीच खेलको विजेतासंग खेल्नेछ ।
खेलमा हंगकंगले टस जितेर पहिले ब्याटिंग गर्ने क्रममा ३२.२ ओभरमा सबै विकेट गुमाएर ८६ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि बलिंगमा निखिल कुमार सिंहले सर्वाधिक ४ विकेट लिए । उनले ६.२ ओभरमा १६ रन खर्चिए। बिशाल कुमार पटेल (४–०–१७–२) र रमेश कुर्मी ( ७–२–१४–२) ले २÷२ तथा तिलक राज भण्डारीले १ विकेट लिए ।

हंगकंग ब्याट्सम्यान आरुष भागवतले सर्वाधिक ४३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । आरुषले ८३ बलमा ४ चौका प्रहार गरे ।

सहज रहेन नेपालको जित
८७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात नाजुक रह्यो । ओपनर दिपक बोहरा ११, सुवास ऐयर १०, अइस भट्टराई १७, बिशाल बिक्रम केसी ७ तथा प्रशान्त महत १ रन बनाएर आउट हुँदा पहिलो ५ विकेट नेपालले ५१ रनको योगफलमा गुमाउन पुग्यो ।

त्यसपछि सातौँ नम्बरका ब्याट्सम्यान रोहन दूधराज विक र छैठौं नम्बरका निखिल कुमार सिंहले छैठौं विकेटका लागि साझेदारी गर्दै नेपाललाई विजय उन्मुख गराए। छैठौं विकेटको लागि १८ रनको साझेदारी गरेपछि रोहन दुधराज १४ रन बनाएर आउट भए ।

त्यसपछि नेपालले थप विकेट गुमाएन र २१.४ ओभरमा नेपालले ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । निखिल कुमार सिंहले अविजित ४ तथा कृश कार्कीले अविजित १२ रन बनाएर नेपाललाई जितसम्म पुर्याए । नेपालको जित मुस्किल बनाउन हंगकंग बलर ब्रिज नाराइनले ३ विकेट (६–०–२०–३) तथा अहान त्रिभेदीले २ विकेट (५–०–२२२) लिए ।