ताजा समाचार

वैशाख १३ गते २०७६

नारी परिवर्तन : त्यो समय र यो समय

पहिला, पहिला हाम्रो हजुरआमा, आमाको बेलामा छोरी जन्मेपछि छोरीलाई बोझको रुपमा लिने गरिन्थ्यो । त्यतिखेर छोरी पाएपछि छोरीको चिना, टिप्पन केही बनाउदैनथ्यो । छोरी जन्मँदाखेरी कोही कोही परिवारमा छोरैछोरा भएको घरमा लक्ष्मी, सरस्वती, दुर्गा वा भगवतीको जन्म भयो भन्दथे । तर पनि यो लागु धनी वा खानदानी परिवारमा मात्र सीमित हुन्थ्यो ।

तर आर्थिक अवस्था कमजोर भएको घरमा त कसरी छोरीलाई पालनपोषण गर्ने र कहाँबाट ऋण ल्याई विवाह कर्म गरिदिने हो भन्ने चिन्ताले सताउथ्यो । छोरीलाई पढाउने भन्ने त टाढाको विषय थियो । छोरी दिन प्रतिदिन बढ्दै जाँदा उमेर बढे अनुसारको घरायसी काम धन्दाको जिम्मा बढ्दै जान्थ्यो ।

घरमा आमालाई सघाउने, भान्छामा, पूजाको भाँडा माझ्ने गाई भैंसीलाई घाँस काट्ने, आफू भन्दा ठूला मान्यजनहरूलाई सत्कार, सम्मान गर्ने, आफूभन्दा ठूलोसंग मुख नलगाउने, आमा मेलापात गर्न जाँदा भाईबहिनीको हेरविचार गर्ने छोरीको जिम्मा हुन्थ्यो । यसरी छोरीलाई सिकाएमा विवाहपछि छोरीले आफ्नो घर राम्रोसंग चलाउन सक्छिन् भन्ने हुन्थ्यो ।

पछि छोरी १०/१२ वर्ष भएपछि विवाह गरिदिन्थे । छोरीको उमेर थोरै ज्वाइँको उमेर बढी हुन्थ्यो । र ति छोरी घर गएपछि माथि उल्लेखित काम गरेर सासु, ससुरा, जेठाजु, जेठानी, नन्द, देवर भएको परिवारको सम्मान, सेवा गर्नुपर्दथ्यो । बिहान उठेर सासु ससुरालाई ढोग गर्ने, श्रीमान्को खुट्टाको पानी खाने त्यति नगरेसम्म खाना खान पाइँदैनथ्यो ।

उमेर बढ्दै जाँदा १४, १५ को उमेरमा बच्चा जन्मदिन्थे । कतिले त राम्रैसंग बच्चा जन्माउदथे । कतिले बच्चा जन्माउन नसकेर आमाले आफ्नो देह त्याग गर्नु पर्दथ्यो त्यतिखेर अस्पताल जाने भन्ने कुरै हुन्थेन ।
त्यति मात्र कहाँ हो र छोरा जन्मे छैटु, न्वारनमा वरिपरीका सबैलाई बोलाएर खाना खुवाउने चलन थियो । छोरी जन्मिंदा ६ दिनमा टिपनसम्म गर्दैनथे । त्यसै कारणले गर्दा परम्परा देखिनै छोरीलाई अर्काको नासो सम्झन्थे । माइती जति धनी भए पनि छोरीलाई विवाह गरी कन्यादान दिंदा पाले पुण्य मारे पाप भनेर गाईको पुच्छर ममातेर कन्यादान दिने चलन थियो । त्यसै कारण छोरीलाई घरपरिवारले जति दुःख, कष्ट, खान लाउन नदिए पनि सकेसम्म छोरी माइत नजाने चलन थियो ।

आमा, बाबा पनि छोरीको घर जान हुन्न, खान हुन्न भन्ने गलत धारणाले गर्दा छोरीहरूले माइत र घरको साहारा नपाएर आत्महत्या गर्न समेत बाध्य हुन्थे । जन्म दिने त आमा, बाबाबाट एउटै कोखमा रहेर आएको हो यत्रो पक्षपात किन ? नारी धर्ती हुन् सहन पर्दछ भन्ने धारणा थियो । त्यसै कारण २१ औं शाताब्दीमा आएर विस्तारै विस्तारै (नारी) छोरीलाई पढाउन आमाबाबाले लगाउन थाले ।

पढ्दाखेरी पनि छोरीहरू अति अनुशासन र लगनशील भएर पढे, त्यैपनि १/२ का घरमा छोरी पढाउन पठाउँदा छिमेकीले कुरा काट्ने, घरमा आमाबाबालाई छोरी पढाउन नपठाउ भन्ने, धम्की समेत समाजका ठूलाठालाले भन्ने गर्दथे । त्यसो गर्दा गर्दै पनि लुकीछिपी पढ्ने गरेका नारीहरूले आफ्नो सन्ततिलाई पढाउन थाले । र यसरी बिस्तारै विस्तारै छोरीलाई शिक्षा देऊ भन्ने नारा राज्यबाट सुरु भयो र निःशुल्क शिक्षा दिएर आर्थिक कमजोर भएकाहरू पनि साक्षर हुने मौका पाए ।
अहिले आएर तिनै छोरी, नारी विभिन्न ठाउँमा उच्च स्थान, राष्ट्रपति, शभामुख, न्यायाधीश, विभिन्न सरकारी अफिस, संघसंस्थामा प्रमुखको भूमिका, हस्पिटल डाक्टर, इन्जिनियर, पाइलट, विश्वविद्यालय आदिमा आफ्नो कर्तव्य दायित्व जिम्मेवारी राम्रोसंग बहन गरी कार्य गर्दै आउनुभएको छ । नारीलाई राज्यले पनि अघी बढाउन विभिन्न किसिमका तालिम, उद्यमशिलता स्वरोजगार हुनका लागि प्राविधिक, सिपमूलक तालिम, राजनीतिक तिर पनि अगाडि बढाइ राखेको छ ।

नारीमा पनि समाजमा गर्नुपर्ने प्रति इच्छा शक्ति बढेको छ । त्यही कारणले गर्दा नारीमा चौतर्फी विकास भइरहेको अनुभव हुन्छ । राज्यले पनि नारी जागरण अभियान शुरु गरेको छ । नारीहरूले केही गर्न सक्दैनन् क्षमता छैनन् नारी केवल घर सजाउने, घरको व्यवस्थापन गर्ने भन्ने धारणा हटेको छ । अहिले २१औं शताब्दीमा आएर त्यो सोचलाई तोड्न सफल भएका छन् ।

नारी स्वतन्त्रता भएमा नारी पनि आफ्नो घर परिवारलाई सुन्दर बनाउनुका साथै राष्ट्रप्रति र राष्ट्रियताप्रति माया बढ्दै जान्छ । सुन्दर शान्त नेपाल बन्न सक्दछ । तर स्वतन्त्रता भयो भन्दैमा अनुशासनमा नबस्ने, पैसा छ भन्दैमा तडक भडक, देखाउने घर परिवारमा बालबच्चा, बुढा सासु, ससुरा, श्रीमानको ख्याल नगर्ने बाहिरका साथीहरूसंग बढी रमाउने, घरमा गर्नुपर्ने मर्यादालाई भुलेर सीमा पार गरेमा नारीबाट स्वर्ग घर कुरुप बन्न समय लाग्दैन । स्वतन्त्रलाई अपमान नगरौं ।

अर्कोकुरा अहिले आएर हाम्रो देश नेपालको पोशाक धरापमा परेको छ दुःख लाग्दछ । नारीले नै सोच्नु पर्दछ । विदेशीहरूले हाम्रो नेपाली पोशाक लगाएर नेपाललाई सम्मान पु¥याएका छन् भने हामीले पनि नेपालको पहिचान हुने पोशाकलाई महत्व दिऊँ ।

छोरी, दिदी, बहिनी हाम्रो राम्रो संस्कृति, संस्कार, अस्मितालाई बचाइ राख्नु हाम्रो कर्तव्य, दायित्व हो । नराम्रो कुरीति प्रथालाई हटाउनु हामी सबैको जिम्मेवारी हो । त्यसैले नारी शिक्षित वा असल ब्यवहार भएमा घर स्वर्ग सुन्दर बगैचा हुन्छ । छोरा शिक्षित भए आफूलाई मात्र छोरी शिक्षित भए सबैलाई भन्ने भनाईलाई चरितार्थ बनाउन छोरीलाई अनिवार्य रुपमा शिक्षा दिनुपर्दछ ।
(लेखक कोइराला सिद्धार्थ टोल विकास संस्थाकी निवर्तमान अध्यक्ष हुनुहुन्छ ।)