नागरिकताबारे सर्वोच्चले आफ्नै आदेश उल्टायो

गृह मन्त्रालयको सकुर्लरअनुसार नागरिकता वितरण नगर्न सर्वोच्चले फेरि अर्को अन्तरिम आदेश जारी गरेको छ ।

अंगीकृत नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता वितरण गर्ने गृहको सर्कुलर अनुसार नागरिकता वितरण नगर्ने सर्वोच्च अदालतले आदेश दिएको हो ।

यसअघि सर्वोच्च अदालतले नै गृहको सर्कुलर अनुसार नागरिकता वितरण नरोक्नू भनेर आदेश दिएको थियो । नागरिकता वितरण नरोक्नु भनेर आदेश दिएको एक साता नबित्दै सर्वोच्चले आफ्नै आदेशको खण्डन गर्दै नागरिकता वितरणमाथि अन्तरिम रोक लगाएको हो ।

गत साता सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गृह मन्त्रालयको सर्कुलरबमोजिम नागरिकता वितरण गर्ने कार्य नरोक्न आदेश जारी गरेको थियो ।

यसविरुद्ध सर्वोच्चमा परेको अर्को रिटमाथि छलफल गर्दै शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र पुरुषोत्तम भण्डारीको इजलासले गृहमन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न नगराउन भनेको हो ।

सर्वोच्चको पछिल्लो आदेशमा २०५४ र २०५८ सालमा बाँडिएका ३४ हजार नागरिकता वाहकका सन्तानलाई तत्काल वंशजको नागरिकता वितरण नगर्न भनिएको छ ।