पोखरा महानगरपालिकामा लविङ सेन्टर बिहीबारबाट शुरु भएको छ । अनुभव आदानप्रदान गर्ने, एकअर्को नगरपालिकाबीच सिक्ने तथा नीति नियम र कानुनबारे प्रष्ट पार्न सघाउने उद्देश्यले लविङ सेन्टर शुरु गरिएको हो ।
साथै स्थानीय तहका कानुन, कामकारबाही र नीतिनियमबारे बुझ्न, सच्याउन, सहकार्य तथा समन्वय गर्न लबिङ सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ । ७ वटा प्रदेशमा ९ लबिङ सेन्टर बनाइने भएको छ । गण्डकीका लागि पोखरा महानगरलाई तोकिएको छ । त्यसले प्रदेशका सम्पूर्ण नगरपालिका हेर्ने महानगरले जनाएको छ ।
मेयर जिसीले प्रविधिको शुरुआत गर्दै गण्डकी प्रदेशका सबै नगरपालिका अब पोखरा महानगरपालिकासँग जोड्ने काम भएको बताए । मेयर जिसीले वडावडामा यो प्रविधि पुर्याएर काम कारबाहीबारे जानकारी लिने बताए । ‘अब वडावडामा यो प्रविधि लागू हुन्छ । त्यसो भयो भने कुनै पनि वडाध्यक्ष फाइल बोकेर हस्याङफस्याङ गर्दै महानगर धाउनु पर्दैन,’ मेयर जिसीले भने, ‘भिडियोबाटै अब सबै काम गर्न सकिन्छ ।’
महानगरका प्रमुख प्रशाकीय अधिकृत शेषनारायण पौडेलले पोखरा महानगर ‘भर्चुअल गर्भमेन्स’ तर्फ उन्मुख भएको बताए । उनले भिडियोबाटै बैठक तथा सेमिनार गर्न सकिने जानकारी दिए । ‘अब भौतिक शरीरले फरक पार्दैन । गाडी, प्लेन चढेर लामोलामो दूरी पुगिरहनु पनि पर्दैन,’ उनले भने, ‘यसले वडा र महानगरको दूरी छोट्याउने काम गरेको छ ।’ उनले अन्य स्थानीय तहसँग ‘कम्युनिकेट’ गर्न पनि सजिलो भएको दाबी गरे ।
उनले नेपाल एजुकेसन रिसर्च नेटवर्कसँगको सहकार्यमा भिडियो कन्फ्रेन्स सिस्टम लागू गर्न लागेको बताए । ‘पछि सबै लबिङ सेन्टरमा यही रिसर्च सेन्टरले भिडियो कन्फ्रेन्सका लागि व्यवस्थापन मिलाउन सहयोग गर्नेछ,’ उनले भने, ‘सबै स्थानीय तहदेखि केन्द्रसम्मलाई एकै ठाउँमा जोड्न यो प्रविधि लागू गरेका हौं ।’ पोखरा महानगरमा ‘भिडियो कन्फ्रेन्स’ प्रविधि लागू गर्न संघले ३ लाख ७५ हजार रुपैयाँ लगानी गरेको छ ।
पोखरा–धुलिखेल संवाद
लविङ सेन्टरमार्फत महानगरका मेयर मेयर मानबहादुर जिसीले धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्यञ्जुसंग भिडियो कुराकानी गरेका थिए । ब्यञ्जु नगरपालिका संघका अध्यक्षसमेत हुन् । पोखराका मेयर जिसीले ब्यञ्जुसंग स्थानीय सरकार गठन भएपछिका अवस्थाका बारेमा प्रश्न गरेका थिए भने उत्तरमा ब्यञ्जुले संस्थागत सुुदृढिकरण, अन्तर्राष्ट्रिय सम्बन्ध बढाउने लगायतका काम गरिरहेको जानकारी दिए ।
साथै पोखराका मेयर जिसीको कानुनसंग सम्बन्धित प्रश्नमा ब्यञ्जुले एकल अधिकार प्राप्त भएका कानुन तथा नीति नियम बनाइसकेको र बाँकी कानुनसमेत लेख्ने र व्यवस्थापन गर्ने काम भइरहेको जानकारी दिए । मेयर ब्यञ्जुले बाँकी रहेका कानुन बनाउन काठमाडौं विश्वविद्यालयसँग समन्वय गरिरहेको र ती कानुन क्रमशः बनाउँदै जाने जानकारी दिए ।






