यातायात कार्यालयका २ कर्मचारीसहित इन्स्पेक्टरविरुद्ध मुद्दा


यातायात व्यवस्था कार्यालय, महेन्द्रनगर, कन्चनपुरका तत्कालीन निमित्त कार्यालय प्रमुख सिताराम खनाल, मेकानिकल इन्जिनियर योगेन्द्रप्रसाद गुप्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक बाबुकाजी गिरी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

सो कार्यालयले सञ्चालन गरेको मोटरसाइकल/स्कुटरको सवारीचालक अनुमतिपत्रको लिखित परीक्षामा सामेल नभएका र फेल भएका ब्यक्तिबाट आर्थिक लाभ लिई अनुमति पत्र दिएको आरोपमा उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार लिखित परीक्षामा ३२११ जना सम्मिलित भएको र प्रयोगात्मक परीक्षामा ३२६५ जना सहभागी भएकोमा मिति २०७२।०३।१६ गते देखि २०७२।०३।२६ गतेसम्म सञ्चालन भएको प्रयोगात्मक परीक्षामा असफल भएका परीक्षार्थीहरूबाट ५ देखि १५ हजार रकम असुल गरी चालक अनुमतिपत्र दिइएको थियो।

परीक्षा समितिका अध्यक्ष रहेका तत्कालिन कार्यालय प्रमुख खनाल, तथा समितिका सदस्य गुप्ता र गिरिविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको हो।