अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ ले सरकार विरुद्ध थप आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले कुनैपनि बहानामा अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्न र पटक–पटक आन्तरिक परीक्षा दिने व्यवस्था गर्न सरकारलाई दबाव स्वरुप थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
समितिले माग पूरा गराउनको लागि अनवरत रुपमा चल्दै आएको भद्रकालीको धर्ना कार्यक्रम यथावत राखेको र बैशाख ११ र १२ गते शिक्षा मन्त्रालयलगायत सम्बन्धित निकायमा ध्यानाकार्षण पत्र बुझाउने कार्यक्रम राखेको जानकारी दिएको छ ।
त्यस्तै, समितिले यही बैशाख १३ गते शुक्रबार काठमाण्डुको भद्रकालीदेखि नयाँ बानेश्वरसम्म विशाल जुलुस प्रदर्शन गर्ने र आन्दोलनका थप कार्यक्रम बैशाख १३ गते घोषणा गर्नेपनि जनाएको छ ।
शिक्षण एउटा प्राविधिक विषय भएकोले ३ घण्टे परीक्षा प्रणालीले शिक्षकको योग्यताको सही मूल्यांकन हुनै नसक्ने समितिको ठहर छ । आफूहरुले अघि सारेका मागहरु तत्काल सम्बोधन गर्नुपर्ने समितिको जिकिर छ ।






