राष्ट्रिय खेलकुदमा पहिलोपटक समावेश गरिएको प्याराग्लाइडिङमा विभागीय टिम नेपाली सेनाले आफनो दरिलो उपस्थिति देखाएको छ । कुल ६ स्वर्ण पदक मध्ये ४ स्वर्ण पदक जित्दै नेपाली सेनाले आफनो उपस्थ्तििलाई बलियो बनाएको प्रष्ट्याएको छ । गण्डकी प्रदेशले २ स्वर्ण जितेको छ । यो सँगै गण्डकी प्रदेशको स्वर्ण पदकको संख्या ९ पुगेको छ । यस अघि स्क्वासमा २, फुल कन्ट्याक्न्ट कराँतेमा ४ र आईटिएफमा १ स्वर्ण पदक जितेको छ ।
यसअघि पोखरामा हुने कुनैपनि प्याराग्लाइडिङ प्रतियोगितामा आर्मीको सहभागिता हुदैनथ्यो । प्याराग्लाइडिङमा प्रतियोगितामा पहिलो सहभागितामै सेनाले आफनो बर्चस्व कायम गर्यो । आर्मीले पुरुषतर्फ ३ र महिलातर्फ एक स्वर्ण पदक जित्यो । गण्डकी प्रदेशले महिला र पुरुषमा एक–एक स्वर्ण हात पारेको छ ।
नेपाल प्याराग्लाडिङ तथा ह्याङग्लाइडिङ एशोसिएसनका महासचिव शैलेन्द्र रावतका अनुसार प्रतियोगितामा सेनाले सर्वाधिक बढी पदक ४ स्वर्ण र ४ रजत हात पारेको छ । गण्डकीले २ स्वर्ण, १ रजत र ४ कास्य हात पारेको छ । प्रदेश १ ले १–१ वटा रजत र काँश्य हात पारेको छ । प्रदेश ३ ले १ मात्र कास्य हात पारेको छ ।
सेनाले पुरुषतर्फ टिम एक्युरेसी, इन्डिभिजुअल एक्युरेसी, इन्डिभिजुअल क्रसकन्ट्री र महिलाको इन्डिभिजुअल एक्युरेसीमा स्वर्ण पदक जित्यो । गण्डकीले पुरुष टिम क्रसकन्ट्री र इन्डिभिजुअल महिला क्रसकन्ट्रीमा मात्र स्वर्ण जितेको छ । पुरुषतर्फ आर्मीले टिम एक्युरेसीमा १७५ अंक बटुलेर स्वर्ण जितेको थियो । रजत जितेको प्रदेश–१ ले १०१९ अंक ल्याएको छ भने काँश्य जितेको गण्डकी प्रदेशले १३४५ अंक ल्याएको छ । त्यस्तै पुरुषकै टिम क्रसकन्ट्रीतर्फ गण्डकीले ९११४ अंक ल्याएर स्वर्ण जितेको थियो । रजत जितेको आर्मीले ८४४७ अंक ल्याएको छ भने काँश्य जितेको प्रदेश–३ ले २४९६ अंक ल्याएको छ ।
पुरुषकै इन्डिभिजुअल एक्युरेसीतर्फ आर्मीका सागर नेपालीले १९ अंक ल्याएर स्वर्ण जितेका हुन् । आर्मीकै ऋषि जलारीले २३ अंकका साथ रजत र गण्डकीका आशिष भट्टराइले ३१ अंकका साथ काश्य जितेका छन् । त्यस्तै इन्डिभिजुअल क्रसकन्ट्रीतर्फ आर्मीका सुरजत थापाले २५९५ अंकका साथ स्वर्ण पदक जितेका छन् । आर्मीकै विशाल थापाले २५५० अंकका जोड्दै रजत र गण्डकीका आशिष थापाले २५४५ अंकका साथ कास्य पदक जितेका छन् ।
महिलातर्फ इन्डिभिजअल एक्युरेसीमा आर्मीकी दुर्गामाया गुरुङले ४७९ अंकका साथ स्वर्ण पदक जितेकी छिन् । गण्डकीकी सविता तामाङले ५४० अंकसहित रजत र गण्डकीकै प्रतिभा भुजेलले ५७३ अंकसहित कास्य पदकमा चित्त बुझाईन् । महिलातर्फ इन्डिभिजुअल क्रसकन्ट्रीमा गण्डकीकी त्रिशा श्रेष्ठले ११३५ अंकका साथ स्वर्ण पदक हात पारिन । आर्मीकी स्वस्तिका गुरुङले ६५७ अंकका साथ रजत र प्रदेश १ की सुस्मिता सुनुवारले ३४५ अंकका साथ काँश्य पदक हात पारिन् ।
‘पहिला गण्डकी प्रदेशको पोखरामा खेलेर खारिएका खेलाडी अहिले आर्मीबाट खेल्दा पदक आर्मीको पोल्टामा पर्न सहज भएको हो,’ निर्णायक मध्येका विमल अधिकारीले भने, ‘यो पनि खेलाडीका लागि सकारात्मक पक्ष हो । आगामि दिनमा अरु विभागीय टिमले पनि खेलाडीको खोजी गर्ने र खेलाडीले पनि अवसर पाउने पक्का भएको छ ।’ यो प्रतियोगिताले खेलाडीको मनोवल उच्च भएको उनले बताए । विभागीय टिममा पर्नु र पदक हात पार्दा खेलाडी हौसिएको उनले बताए ।
राष्ट्रिय खेलकुदको यो प्रतियोगितामा भाग लिने खेलाडीले पोखराको सराङकोटबाट उडेर फेवाताल किनारको खपौदीमा अवतरण गरेका थिए । प्रतियोगितामा प्रदेश १, ३ गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशले सहभागिता जनाएका थिए । विभागीय टिम आर्मीले पनि प्रतियोगितामा सहभागिता जनाएको थियो ।
प्रतियोगितामा टिम क्रसकन्ट्री र टिम एक्यूरेसी तथा इन्डिभिजुअल क्रसकन्ट्री र इन्डिभिजुअल एक्युरेसीतर्फ पुरुषतर्फ र महिलातर्फ इन्डिभिजुअल क्रसकन्ट्री र इन्डिभिजुअल एक्युरेसीमा मात्र प्रतिश्पर्धा भएको रावतले बताए । सबैगरि ५१ जना पुरुष र १० महिला गरि ६१ जनाले भाग लिएको उनले बताए । पोखरामा भएको यो प्रतियोगिताले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिलाएको उनले बताए ।
kheladinews.com




