प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सञ्चारकर्मीले आफुसँग केही मागेको र दिन सक्दिन भनेपछि गलत समाचार सम्प्रेषण गरेको आरोप लगाएका छन्।
महानिरीक्षक खनालले कार्यकालको एकवर्षको समिक्षा र प्रहरीले गरेका कामकारबाही बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एकजना पत्रकारले केही मागेको गुनासो गरेका हुन्।
‘पत्रकारले केही माग्नु भएको थियो,’ पत्रकार सम्मेलनमा महानिरीक्षक खनालले भने ‘दिन सक्दिन भनेको भ्रष्टाचार गर्यो भनेर समाचार निकाल्नु भएछ।’
उनले पत्रकार सम्मेलनमा पत्रकारकै बिरुद्ध यस्तो भनेपछि प्रमुख दैनिकका एक पत्रकारले ती पत्रकारको नाम सार्वजनिक गर्नुपर्ने भन्दै खनाललाई सोधेका थिए। महानिरीक्षक खनालले ती पत्रकारको भने नाम खुलाएनन्।
प्रहरी महानिरीक्षक नियुक्तीका एक वर्षमा प्रहरीका दैनिक कामकारबाही र गतिविधीलाई नै केन्द्रीय प्रवक्ता मार्फत उपलब्धीका रुपमा ब्याख्या गरेका खनालले प्रहरीभित्रको नीतिगत सुधार र दिर्घकालिन योजनामा धेरै समय खर्चेनन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा बनेका निर्मला पन्त हत्या र तपस्वी रामबहादुर बमजनका बिषयमा समेत महानिरीक्षक खनालले स्पष्ट जवाफ दिनु भन्दा बिषयान्तर गरेका थिए। यस्तै सुन तस्करी प्रकरण र निर्मला हत्या प्रकरणमा अनुसन्धान अधिकारी नै आरोपित बनेको बिषयमा समेत महानिरीक्षक खनालको जवाफ चित्तबुझ्दो हुन सकेन।
उनी मातहत रहेको केन्द्रीय अनुसन्धान ब्युरो र विशेष ब्युरो जस्ता महत्वपूर्ण इकाईमा देखिएको सुस्तताका बिषयमा समेत महानिरीक्षक खनालले बिषयान्तर गरेका थिए।






