राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा प्याराग्लाइडिङ

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पहिलो दिन सोमबार एक्यूरेसी र क्रसकन्ट्री तर्फका पहिलो राउण्डका खेलहरु पोखरामा सम्पन्न भएका छन ।

पहिलो दिनको खेलमा पुरुष एक्यूरेसी र क्रसकन्ट्री टिम र दुबै इभेन्टका इन्डिभिजुअलतर्फ मिश्रित परिणाम आएको छ ।

टिम एक्यूरेसी तर्फ नेपाली सेना १०७ अंकका साथ प्रथम स्थानमा रहेको छ भने गण्डकी प्रदेश १८५ अंकका साथ दोश्रो र ३३१ अंकका साथ प्रदेश नम्बर १ तेश्रो स्थानमा रहेका छन । त्यसै गरि सुदुर पश्चिम प्रदेश ११७० अंकका साथ चौथो, १८९६ अंकका साथ प्रदेश ३ पाँचौ र ३१३५ अंक बटुल्दै कर्णाली प्रदेश छैटौ स्थानमा रहेको छ ।

इन्डिभिजुअल एक्यूरेसी पुरुषतर्फ नेपाली सेनाका सागर नेपाली ८ अंकका साथ प्रथम स्थान बनाउन सफल भएका छन भने गण्डकी प्रदेशका अनिष भट्टराईले दोश्रो स्थानमा रहंदै ११ अंक बटुलेका छन । त्यसै गरि नेपाली सेनाका सागर जलारी ५०१ अंकका साथ तेश्रो स्थानमा रहेका छन ।

महिला इन्डिभिजुअल एक्यूरेसीमा गण्डकी प्रदेशकी सबिता तामाङ २७४ अंकका साथ अगाडी रहेकी छन भने प्रदेश नं ३ की बिबी सिङताङ ३६१ अंकका साथ दोश्रो स्थानमा रहेकी छन । तेश्रो स्थानमा गण्डकी प्रदेशकी ५०१ अंकका साथ प्रतिभा बोगटी रहेकी छन । तामाङ र बोगटी १८ औं एशियाली खेलकुदमा सहभागी भएका खेलाडी हुन ।

पहिलो दिन भएको क्रसकन्ट्रि (एक्सी) इभेन्ट तर्फ पहिलो राउण्डमा ३२ किलोमिटर टास्क सम्पन्न भएको छ । उक्त इभेन्टमा ३ महिला र १९ पुरुष सहित कूल २२ जना खेलाडी सहभागी रहेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा)का महासचिब शैलेन्द्र राउतले जानकारी दिए ।