ताजा समाचार

वैशाख ७ गते २०७६

नांगो नाच किन देखाउँछौ ?

बिद्धुतिय अपराध ऐन अन्तरगत मुद्दा खेपिरहेका पत्रकार अर्जुन गिरी रिहा भएपछि बिद्रोही नेकपा समर्थित पत्रकार प्रकाश डुम्रे, हिम बिस्ट, सिर्जना तिम्सिना, र ओम हमालले लेखेका फेसबुक स्टाटस देखेर दया लाग्यो । ४ जनाले लेखेको एउटै खाले स्टाटसमा आफु समर्थित पत्रकार र अर्जुन गिरीको मुद्दामा पत्रकार महासंघ र सरोकारवाला निकायले भेदभाव गरेको पूर्वाग्रही भाव ब्यक्त गरिएको छ ।

मलाई के लाग्छ भने पछिल्लो पटक पक्राउ परेका पत्रकार गणेश बिक, गोपाल चन्द, कर्ण बिक जितेन्द्र महर्जन, राजेन्द्र अधिकारी र अर्जुन गिरीको सन्दर्भमा नेपाल पत्रकार महासंघ र सरोकारवाला अन्य पत्रकार संगठनहरुको धारणा एकै थियो । सबैले आ-आफ्नो ठाउँबाट आवाज उठाएका र महासंघको आन्दोलनमा सहभागी हुने र आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्ने गरेकै हुन् ।

आफैले सचेत पहलकदमी नलिई, आन्दोलनको एजेण्डा तय नगरी वा सरोकारवाला निकायले थालेको न्यायपूर्ण आन्दोलनमा आफै सहभागि नभई गरिने कोरा वक्तव्यवाजीको केहि अर्थ रहदैन ।

जहासम्म ठोस पहलको कुरा छ । गणेश बिक र कर्ण बिक पक्राउ पर्दा महासंघ जिल्ला, प्रदेश र केन्द्र उत्तिकै लागेकै हुन् । हामी आफै पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेब जैशी र क्रान्तिकारी पत्रकार संगठनका तर्फबाट म बिकलाई काठमाडौँ ल्याएको २४ घण्टा पनि नाबितिकै टेकु प्रहरी परिसरका प्रमुखलाई भेटघाट गरी मुद्दालाई सहज बनाउने र बिकलाई चाडो रिहा गर्नेबारे ठोस पहल गरेका थियौ । गोपाल चन्द गिरफ्तार पर्दा पनि महासंघले आन्दोलन सुरु गरेकै थियो । हामि स्वयंले पनि प्रत्यक्ष भेटेरै सम्बन्धित निकाय र प्रहरी प्रमुखसँग उनको रिहाइका निम्ति जोडदार पहल गरेकै हो । फरक यत्ति मात्र हो की उनीहरु दुई जना रिहा हुँदा सस्तो प्रचार र साख्खै बन्नका निम्ति अबिर र खादा ओढाउन टेकु भने गइएन ।

कालिकोटका पत्रकार कर्ण बिकको गिरफ्तारीपछि तत्काल जिल्लाका सम्पूर्ण सञ्चारमाध्यम बन्द गरेरै महासंघ जिल्ला, प्रदेश, केन्द्र र पत्रकार साथीहरु आन्दोलनमा उत्रिएकै हुन् । महासंघ केन्द्रले मिसन टोली बनाएर कालिकोट पठाउने निर्णय गरेकै थियो । महासंघको उक्त निर्णयपछि टोली जानै लाग्दा उनलाई रिहा गरिएको यतार्थ किन लुकाउने ? महर्जनको मुद्दामा महासंघको तर्फबाट जन्मदेब जैशीले सर्बोच्चमा रिट हाल्नु भएको छ ।

जैशी महासंघको केन्द्रीय सदस्य मात्र नभएर क्रान्तिकारी पत्रकार संगठनको नेपालको केन्द्रीय उपाध्यक्ष पनि हो । त्यो हिसाबले उहाँ आफु सम्बद्ध राजनीतिक बिचार र आस्था प्रति प्रतिबद्ध भएर पनि महासंघको तर्फबाट अख्तियारी लिएर महर्जनका पक्षमा रिट दायर गर्नुभएको हो । हामीले गरेका यि पहल र कामहरुलाई तिमीहरुको दृष्टिले देख्न सकेन । वा उल्लेख गर्न लाज लाग्यो ? हिजो प्रकाश डुम्रे पक्राउ पर्दा पनि यिनै जन्मदेब जैशिले रिट हालेर रिहाई गराइएको कुरा बिर्सियौ ?

अहिले पक्राउ परेका पत्रकार गणेश, गोपाल, कर्ण, राजेन्द्र र अर्जुनका बारेमा कुरा एकै हो । यसमा कसैको पनि फरक मत हुनु हुदैन । रिहा नभएका महर्जन बाहेक रिहा भएका राजेन्द्र र कर्ण तारेखमा छुटेको हैनन् भने अरु सबै साथीहरु तारेखमै रिहा भएका हुन् । तारेख अरु साथीहरुले पनि धाइरहनु भएको छ र अर्जुनले पनि लिनु नै पर्ने बाध्यता छ । अनि कसरी तिमीहरुले अर्जुन र अरु साथीहरुका बारेमा महासंघले विभेद गरेको देख्यौ ? अब बाँकी हिरासतमा रहेका पत्रकार साथीहरुलाई रिहा गराउन पत्रकार महासंघ र हामि सबै आन्दोलनमा छौं। तिमीहरु पनि आउ हामिसंगै सडकमा अनि मात्र तिम्रा दुला भित्रका कोरा असन्तुष्टिको अर्थ रहन्छ ।

बिरोधका निम्ति बिरोध गर्नु र हदैसम्मको पूर्वाग्रही अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट गर्नु भनेको आफ्नो खस्किदो औचित्यहिन हैसियत र तल्लोस्तरको औकात देखाउनु मात्र हो । तिमीहरुले दुला हित्रबाट लेखेका स्टाटस आफुले केही काम गर्न नसकेपछि अरुले गरेका उल्लेखनीय कामलाई ओझेलमा पार्न र आफ्नो छटपटी पोख्न गोयबल्स शैली अपनाइएको बाहेक अरु केही हुन सक्दैन । यसको मतलब तिमीहरुसँग नेपालको परिवर्तनकारी आन्दोलनमा प्रचार मोर्चा मार्फत भूमिका निर्वाह गर्न, जनपक्षीय पत्रकारिता गर्न र पत्रकार साथीहरुमाथि राज्यले गरेको दमनको प्रतिरोध गर्ने कुनै एजेण्डा र योजना नै छैन भन्ने प्रष्ट हुन्छ ।

जहासम्म तिमीहरुको कुरा छ । तिमीहरु आफै आन्दोलनका निम्ति सडकमा किन आउदैनौ ? गिरफ्तार साथीहरुको रिहाइका निम्ति पहल गर्न सरोकारवाला सबै निकाय र सम्बन्धित प्रहरी प्रमुखहरुसँग भेटघाट छलफल गर्न किन सक्दैनौ ? वा मुद्दा खारेज गर्न पहलकदमी लिनुको सट्टा किन दुला पसेर बेकामका बक्तब्यवाजी गर्ने र फेसबुकममा रोइलो गर्ने गरेका छौ ? आफैले सचेत पहलकदमी नलिई, आन्दोलनको एजेण्डा तय नगरी वा सरोकारवाला निकायले थालेको न्यायपूर्ण आन्दोलनमा आफै सहभागि नभई गरिने कोरा वक्तव्यवाजीको केहि अर्थ रहदैन ।

तिमीहरु लुकेर बस्नुपर्ने कुनै कारण छैन । तिमीहरु आफुलाई पत्रकार हौँ भन्छौ भने तिमीहरुले जुनसुकै बिचार र आस्थालाई अगालेपनि अहिलेको दुनियामा कसैले केही गर्न सक्दैनन् । राजनीतिक आस्थाका हिसाबले राज्यले धरपकड गर्यो भने तिमीहरु कृष्णसेन बन्न तयार हुनुपर्छ लुकेर कायरता प्रस्तुत गर्नु हुदैन । बिद्रोही नेकपा समर्थित भएकै कारण अहिले नै लुकेर बस्नुपर्ने तिमीहरु न बन्दुक लिएर लडिरहेका शैन्य लडाकु हौ न त पार्टीको स्थायी, बिपी र केन्द्रीय समितिका सदस्य नै हौ ।

यसरी निरन्तर वाइयात र कुतर्क गर्दै सिमा नाघेर आफु मात्र ठिक र सारा दुनियाँ बेठिक भन्दै पूर्वाग्रह पेश गरेर तिमीहरु न राजनीतिक प्राणी बन्न सक्छौ न त पत्रकार र सामाजिक व्यक्ति नै, यो त नाङ्गो नाच देखाउनु सिवाय अरु केहि हुन् सक्दैन ।दुला भित्र पसेर लुकेर न त पार्टी र आन्दोलनका पक्षमा प्रचार-प्रसार हुन्छ न त परिवर्तनका पक्षमा लेख्न बोल्न सक्ने संगठन तयार पार्न सकिन्छ ।

यो बेला भनेको शहरमा, सडकमा बसेर मोर्चा सम्हाल्ने बेला हो । क्रान्तिकारी पत्रकार संगठन फुटाएर केहि नेताहरुलाई आफ्नो अनुकूलताको निर्णय गर्न लगाएर तिमीहरुले अर्को संगठन बनाएको पनि एक वर्ष पुरा भैसकेको छ । यो अबधिमा तिमीहरुले के नै गर्न सकेका छौ र ? त्यो त दुनियाले देखेकै छन् । हामी सरकारको हिट लिस्टमा पर्दा पनि निर्भिकतापूर्वक जनताको पक्षमा कलम चलाएर आफ्नो मोर्चा सम्हालेकै छौं ।