पत्रकार गिरीलाई पोखरामा भब्य स्वागत

समाचार लेखेकै कारण साइबर अपराध मुद्दामा गिरफ्तार परेर रिहा भएका पत्रकार अर्जुन गिरीलाई पोखराका पत्रकारहरुले पोखरामा भब्य स्वागत गरेका छन् ।

विहिबार रिहा भएर पोखरा आएका गिरीलाई आज पत्रकार महासंघ कास्की जिल्ला शाखा लगाएत कास्की भरिका पत्रकारहरुले स्वागत गरेका हुन् ।

गिरीले गत चैत २२ गते शुक्रबार ठग बिपेन्द्रराज बतास शिर्षकमा ताण्डब न्युजमा समाचार लेखेका थिए । पोखराका ब्यवसायिहरु जनकराज पहारी र मनोज श्रेष्ठ जिप्रका कास्कीमा जाहेरी दिन पुगेको बेला उनीहरु दुबैलाई उदृत गर्दै गिरीले समाचार लेखेका थिए ।

त्यही समाचार लेखेको भन्दै बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा गिरीविरूद्ध साइबर अपराधको मुद्दा हालेका थिए । त्यही मुद्दाका आधारमा सम्पादक गिरीलाई २ वैशाखमा पक्राउ गरिएको थियो ।

तर उनी रिहा भए पनि विद्युतीय कारोवार ऐनका दफा ४७ र ४८ खारेज नभएसम्म आन्दोलन जारी राख्ने नेपाल पत्रकार महासंघले जनाएको छ ।