सरकारद्धारा वृद्धभत्ताको सट्टा अब स्वास्थ्य बिमा

सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ। हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको जनाएको छ ।

वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्।

सञ्चारमन्त्री बाँस्कोटाले वृद्धभत्ताको सुरुआत् कम्युनिस्टले नै गरेको भन्दै बढाउने वा व्यवस्थित गर्ने कुरामा अरुले चिन्ता लिनुनपर्ने बताए। उनले आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने र त्यसपछि यसलाई हटाइने स्पष्ट पारे।

मन्त्री बाँस्कोटाले ज्येष्ठ नागरिकको जीवनको सुरक्षाका निम्ति सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य हुने र यसैका लागि सरकारले एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा कार्यक्रमको सुरुआत् गरेको बताए।

२०७४ सालमा सम्पन्न निर्वाचनमा वृद्धभत्ता बढाउन दलहरुबीच प्रतिस्पर्धा नै चलेको थियो। चुनावी घोषणापत्रमा प्रमुख दलहरुले वृद्धभत्ता बढाएर ५ हजार पु¥याउने उल्लेख गरेका थिए।