नेपालको पारा फेरि उही….

- विश्वकपका लागि छनोट हुन सकेन

नेपालले २०२० को यू १९ विश्वकप क्रिकेट गुमाएको छ । मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको १ रनको हार नेपाललाई घातक बन्यो । प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई ८ विकेटले हराएको छ ।

तर, अको खेलमा ओमानमाथि १० विकेटको शानदार जित हात पार्दै यूएई शीर्ष स्थानमा रहृयो । ५ खेलबाट १० अंक जोडेको यूएई विश्वकपमा छनोट भयो । सन् २००० मा पहिलो पटक यू १९ विश्वकप खेलेको नेपालले २०१८ को विश्वकप पनि गुमाएको थियो ।

यो पटक रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाललाई बलियो दोबदार मानिएको थियो तर, वर्षा बाधक बन्यो ।
आफ्नो अन्तिम खेलमा कुवेतले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २८ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । ओपनर ऋत गौतम र पवन शरार्फले राम्रो सुरुवात दिलाए । गौतमसँग ९३ रनको साझेदारी गरेका पवन ५३ रनमा आउट भए । दोस्रो विकेटका लागि आशिफ शेखसँग ४७ रनको साझेदारी गरेका गौतम व्यक्तिगत ६३ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले अन्तिम २ बल बाँकी छँदा सबै विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । उसका लागि नोमान बुद्रो एक्लैले ७० रन बनाए । खराब सुरुआत गरेको कुवेतले १२ रन जोड्दा २ विकेट गुमाइसकेको थियो तर, चौथो नम्बरमा आएका नोमानले तेस्रो विकेटका लागि गोलुक कुमारसँग ७४ रनको साझेदारी गरे । यो साझेदारी टुटेपछि कुवेतले लगातार विकेट गुमायो ।

सातौं विकेटका लागि हमौद अमानुल्लाहले नोमानसँग ३० रनको साझेदारी गरे । कुवेतको एउटा एण्ड सम्हालेका नोमान उनी अन्तिम विकेटका रुपमा आउट हुनुअघि १ सय २० बलको सामना गरे । उनले ८ चौका हानेका थिए । नेपालका कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट बलिङ गरे । ३ ओभर बलिङ गरेका उनले मात्र १३ रन खर्चिएर ३ विकेट लिए ।