काउन्सिलको कमजोरीले पत्रकारलाई साइबर मुद्दा

प्रकाशन तथा प्रशारण माध्यमको नियमक निकाय प्रेस काउन्सिल नेपालकै कमजोरीका कारण पत्रकारले सास्ती भोग्नुपरेको छ । त्रुटिवस काउन्सिलले अनलाइन दर्ता नभएको पत्र दिएपछि पत्रकारलाई साइबर अपराधमा मुद्दा लगाएर सिआइबीले पोखराबाट काठमाडौं लग्यो ।

ताण्डव साप्ताहिक र ताण्डवन्युज डटकमका सम्पादक अर्जुन गिरीलाई समाचार लेखेकै कारण साइबर अपराधसम्बन्धी कसुरमा पक्रेको हो । सोमबार दिउसो काठमाडौं लगिएका गिरी बेलुका नेपाल पत्रकार महासंघको रोहवरमा रिहा भएका छन् । गिरीले बतास अर्गनाइजेसनका सञ्चालक विपिन बतास(विपेन्द्र)ले ठगी गरेको समाचार ताण्डवन्युज साप्ताहिक तथा अनलाइनमा लेखेका थिए ।
समाचार प्रकाशन भएपछि विपेन्द्रले प्रेस काउन्सिल नेपालमा ताण्डनन्युज डटकम सूचिकरण नभएको पत्रसहित मुद्दा दायर गरेका थिए । पोखरा ६ का मनोज श्रेष्ठ र जनकराज पहारीलाई विपेन्द्रले ठगी गरेको समाचार ताण्डवमा प्रकाशित थियो । १ वर्षअघि दर्ता भएको अनलाइन काउन्सिलका कर्मचारीको कमजोरीका कारण स्पेलिङ गलत भएपछि दर्ता नभएको पत्र काउन्सिलले दिएको थियो ।

मुद्दा दायर भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को आग्रहमा कास्की प्रहरीले गिरीलाई पक्राउ गरी सोमबार काठमाडौं पठाएको थियो । समाचार लेखेकै कारण साइबर अपराध मुद्दामा पत्रकार पक्राउ यसको परेपछि सर्वत्र विरोध भएको छ । नेपाल पत्रकार महासंघ र महासंघको कास्की शाखाका साथमा अन्य पत्रकार संवद्ध संघ, संस्थाले विज्ञप्ति निकालेर यसमा आपत्ति जनाएका छन् ।

समाचारको विषयलाई लिएर चित्त नबुझे नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्रावधानलाई लत्याउँदै पत्रकारमाथि विद्युतीय कारोबार ऐनमा कारबाही चलाउनु आपत्तिजनक भएकाले आइन्दा यस्तो हर्कत नगरी पूर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गर्न उनीहरुले माग गरेका छन् ।

आफ्नो कमजोरी पत्ता लागेपछि काउन्सिलले गलत गर्ने कर्मचारीलाई सचेत गराउँदै यो विषयमा साइबर अपराध मुद्दा नचलाउन सिआइबीलाई पत्रकार गरिसकेको छ । मंगलबार उपस्थित हुने गरी छाडिएका पत्रकार गिरीको मुद्दा प्रक्रिया मिलाएर मंगलबार सिआइबीबाट स्थानान्तर भई प्रेस काउन्सिलको दायरमा आउनेछ ।

महासंघको रोहवरमा रिहा भएपछि पत्रकार गिरीले यसलाई प्रेस काउन्सिलको गल्तीको परिणाम भएको प्रतिक्रिया दिए । उनले भने, ‘काउन्सिल हाम्रो अभिभावक हो, उसले कारवाही पनि गर्न सक्छ ।’ काउन्सिलले गल्ती गरेकाले नैतिक जिम्मेवारी लिएर अगाडिको प्रक्रियाको नेतृत्व उसैले गर्नुपर्नेमा उनले जोड दिए ।

विपेन्द्रको विषयमा प्रमाणसहित समाचार लेखेको भन्दै उनले गलत भए प्रमाणि गर्न चुनौती दिए । उनले विपेन्द्रविरुद्ध सोमबारै ठगी उजुरी दर्ता भएको तर्फ संकेत गर्दै भने, ‘विपिनले आफ्नो खुट्टामा आफै बञ्चरो हानेका छन् ।’