पुम्दीकोट विकास समितिमा चन्द्रकान्त बराल नै

पुम्दीकोटको बृहत विकास गर्ने उद्देश्यले गठन भएको पुम्दीकोट विकास समितिको अध्यक्षमा पुनः चन्द्रकान्त बराल निर्वाचित भएका छन् । शनिबार भएको भेलाले बरालको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हिमलाल बराल, सचिवमा नरहरि बराल, कोषाध्यक्षमा कमला बराल छन् । यसैगरी सदस्यहरूमा प्रकाश बराल, डिल्लीराम बराल, बिष्णुप्रसाद बराल, लक्ष्मि बराल, दण्डपाणि बराल, गोविन्द प्रसाद बराल, टेकनाथ बराल (राजु) र चण्डीका प्रसाद बराल छन् ।

पूर्व प्रमुख जिल्ला अधिकारी समेत रहेका समाजसेवी नरहरि बरालको संयोजकत्वमा ठगन भएको निर्वाचन कमिटीले सर्वसम्वत रुपमा नयाँ कार्यसमिति चयन गराएको हो । समितिको सहसचिव पछि मनोनित गर्ने भएको बताइएको छ ।

समितिका निर्वाचित भएपश्चात अध्यक्ष बरालले पुम्दीकोटोको बृहत विकासका लागि सबैसंग समन्वय गरी अघि बढ्ने बताए । दाताले दिएको रकमलाई सहि ढंगले सदुपयोग गरी धार्मिक पर्यटनको हबको रुपमा पुम्दीकोटलाई केही बर्षमा स्थापना गरी छाड्ने दाबी गरे ।

यसअघि अधिवेशन उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले विशाल महादेवको मुर्तिसहितको भौतिक संरचना निर्माणले पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने बताएका छन् । धार्मिकसहित प्राकृतिक र सौन्दर्यका दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल भएकाले पर्यटनका हिसाबले पुम्दीकोट गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्य रहेको मेयर जिसीले उल्लेख गरे ।

मेयर जिसीले पुम्दीकोट आँफैमा पर्यटकीय स्थल भएकोले उक्त क्षेत्रमा विशाल महादेवको मुर्ति स्थापना हुनुले धार्मिक पर्यटनको हिसाबले समेत उत्कृष्ट गन्तव्य हुने भएको बताएका हुन् ।
पुम्दीकोटको विकासका लागि सबै लाग्नुपर्ने उल्लेख गर्दै मेयर जिसीले समितिले ४० करोडको बृहत योजना अघि सारेकोमा उक्त अभियानलाइ सफल पार्न महानगरले सक्दो सहयोग गर्ने जनाए ।

उनले भने, ‘हाँको धार्मिक पर्यटनको गन्तव्य बनाउन अब सबै स्थानियहरू जाग्नु पर्छ, पुम्दीकोटसम्म जानको लागि कम्तिमा २ लेनको ८ मिटरको सडक आवश्यक पर्छ, त्यसमा मन खुलेर सहयोग गर्नुहोस, तपाईको क्षेत्रमा पर्यटकको होइरो नै लाग्छ ।’ पुम्दीकोटामा मनोरेलको कुरा भन्दा ट्रमाको सम्भावना रहेको उनले बताए ।

समितिका सल्लाहकार हिमलाल बरालले आफूहरूले पुम्दी भुम्दीको सांस्कृतिक धरोहरको रुपमा रहेको पुम्दीकोटलाई बृहत विकास गर्ने उद्देश्यले विभिन्न योजना अघि सारेको प्रष्ट पारे । समितिका अध्यक्ष चन्द्रकान्त बरालले आगामी १ बर्ष भित्रमा बिशाल महादेवको मुर्ति राखिने गरी हाल निमार्ण कार्य तीव्र पारिएको बताए ।

आफूहरूले महायज्ञदेखि विभिन्न चन्दादाताले दिएको रकमलाई सही ढंगले सदुपयोग गर्ने अध्यक्ष बरालले बताए । ५ बर्ष भित्र आफूहरूले ४० करोडको बृहत योजना अघि सारी राख्दा हालसम्म १५ प्रतिशतमात्र काम भएको उनले जानकारी दिए ।

समितिले हालसम्म १८ वटा व्यपारिक प्रयोजनका लागि सटरसहित १८ वटा कोठाहरू समेत निर्माण गरेको अर्थ समितिका संयोजक डिल्लीराम बरालले बताए । उनका अनुसार उक्त संरचनासहित अन्य काममा करिब ६ करोड खर्च भएको छ । समितिमा हाल करिब ४० लाख रहेको उनले जानकारी दिए ।

कार्यक्रममा पोखरा–२२ का वडा अध्यक्ष मित्रलाल बराल, सचिव रामप्रसाद पौडेल, सचिव नरहरी बराल लगायतले बोलेका थिए । मुर्तिको वरिपरि १ सय ८ शिवलिंग निर्माण गर्ने र मुर्तिलाई डाईमार्फत गणेशले परिक्रमा गरिरहने सहितको मुर्ति निर्माण गर्ने, ध्यान केन्द्र निमार्ण गर्ने, पार्किङ लगायतका योजना रहेको अध्यक्ष बरालले बताए ।