सरकारले गरेको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै ९ दिनदेखि आन्दोलनरत चिकित्कसकले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।
समायोजन गर्दा सम्पूर्ण चिकित्सकको दरवन्दी संघअन्तर्गत राख्नुपर्ने माग राखेर आकस्मिकबाहेकका सेवा ठप्प पारेका सरकारी चिकित्सकहरू आज आइतबारदेखि काममा फर्किर्ने भएका हुन् ।
शनिबार भएको सरकार र सरकारी चिकित्सकबीचको वार्तमा सरकारले माग पूरा गर्न समय मागे गरेपछि आन्दोलन स्थगित गर्न तयार रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।
आन्दोलन स्थगनको औपचारिक घोषणा गर्नुपूर्व सरकारी चिकित्सकहरूले आज आइतबार १० बजे आकस्मिक भेला बोलाएका छन् । भेलामा सरकारी वार्ता टोलीले दिएको माग पूरा गर्ने आधारबारे छलफल गरेर सहमतिपछि स्थगनको घोषणा गरिने सरकारी चिकित्सक संघका एक पदाधिकारीले बताए ।
स्वास्थ्य मन्त्रालयका सचिवद्धय डा. पुष्पा चौधरी र चन्द्रकुमार घिमिरेसहितको मन्त्रालयको टोली, चिकित्सक संघ र सरकारी चिकित्सक संघका टोलीबीच शुक्रबार र शनिबार वार्ता भएको थियो ।
गत शुक्रबारदेखि अनिश्चितकालका लागि भन्दै सरकारी चिकित्सकहरू आकस्मिक बाहेकका सेवा बहिस्कार गरेर आन्दोलनमा उत्रिएका थिए । चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि लाखौं बिरामी बिचल्लीमा परेका छन् । सरकारी चिकित्सकहरूको आन्दोलनलाई नेपाल चिकित्सक संघले पनि समर्थन जनाएपछि बिरामी झन् चेपुवामा परेका हुन् ।
नेपाल चिकित्सक संघले बिहीबार चिकित्सकहरूको मागका विषयमा वार्ता गरेर समस्या समाधान गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । बुधबारदेखि देशैभरका सरकारी अस्पतालको प्रांगणबाटै सेवा दिइएको थियो ।






