नेपाली पात्रोअनुसार, विक्रम संवत् २ हजार ७६ (२०७६) साल प्रारम्भ भएका अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीबीच एकापसमा शुभकामना आदानप्रदान गरी आज नयाँ वर्ष (वैशाख १ गते) उत्साह र उमंगका साथ मनाइँदैछ ।
नयाँ वर्ष २०७६ का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका नेताहरूले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, प्रगति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
सरकारले नयाँ वर्षको उपलक्ष्यमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थालगायत सबै क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन वैशाख संक्रान्तिलाई वर्षको पहिलो दिनका रुपमा लिने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको संकल्प गर्दछन् ।
नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको छ । आजको दिन स्नान र दान गरेमा पुण्य कमाइने धार्मिक विश्वास छ ।
सौरमान र चन्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत् नै विसं हो, विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत् भनिएको हो । नेपाली पात्रोअनुसार, अघिल्लो वर्षको तुलनामा यो वर्ष सम्मत्सर राम्रो रहेको छ ।
समयसमयमा पानी पर्ने भएकाले यो वर्ष कृषि उत्पादन राम्रो हुनेछ भने राजा शनि र मन्त्री सूर्य ग्रहमा रहेको हुँदा दलबीच भने आवश्यक मेलमिलाप र हार्दिकतामा कमी आउन सक्ने ज्योतिषीहरूले दावी गरेका छन् ।




