अटेरी जुनियर इन्जिनियरलाई महानगरको कारवाही

पोखरा महानगरपालिकाका जुनियर इन्जिनियर झपटबहादुर थापालाई महानगरपालिकाले कारवाही गरेको छ । महानगरपालिकाले उनको हाजिरी बन्द गरिदिएको छ भने उनी अब कुनै पनि पदमा नरहेको जनाएको छ ।

महानगरपालिकाले मातहतका प्राविधिकहरुको जिम्मेवारी हेरफेर गरेको र विभिन्न वडामा प्राविधिकलाई कार्यविभाजन गरेको थियो । सोहीअनुरुप महानगरपालिकाले झपट थापालाई वडा नं ३ को वडा कार्यालयमा पठाएको थियो ।

थापाले वडा कार्यालय नजाने र आफु महानगरपालिकामै रहेर काम गर्ने भन्दै वडामा उपस्थीत नभएपछि उनलाई महानगरपालिकाले लिखित स्पष्टिकरण माग गरेको थियो ।
थापाले दिएको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको र तोकिएको वडामा उपस्थित नभएर महानगरपालिकाको र वडाको काममा अबरोध पुर्याएको भन्दै जिम्मेवारी बिहिन बनाएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेष नारायण पौडेलले जानकारी दिएका छन् ।

पौडेलका अनुसार आफ्नो १० महिनाको कार्यकालमा थापाले केही पनि काम नगरेको र महानगरपालिकामा मात्र रहेर काममा लापरवाही गरेकोे दाबी गरे ।जुनियर इन्जिनियर झपटबहादुर थापासँग भने सम्पर्क हुन सकेन ।