धादिङ–पोखरा सम्पर्क समाजको अगुवाईमा बाराको फेटा गाउँपालिमा–१ भलबलियाबा हावाहुरी पीडितलाई राहत प्रदान गरिएको छ ।
राहत रकम २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ छ । धादिङ समाजसंगै गण्डकी मिजार समाज पोखरा–२६, लेखनाथ आपतकालिन राहतकोष, निर्माण व्यवसायी समिति पोखरा–२९ र पोखरा सस्तो बजारले फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादलाई संयुक्तरुपमा राहत रकमको चेक हस्तान्तरण गरेको हो ।
समाजका अध्यक्ष कृष्णबहादुर लम्सालको नेतृत्वमा १६ जनाको टोली बाराको फेटा गाउँपालिकामै पुगेर राहत हस्तान्तरण गरेको हो ।

उक्त अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष प्रसादले राहतले तराई र पहाडबीचको दूरी अन्त्य गरेको बताए ।
धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्णबहादुर लम्सालले मधेशी, पहाडी र हिमाली जो भए पनि हामी सबै नेपाली रहेकाले एउटाको पीडा अर्कोले महसूस गर्नुपर्ने बताए ।
फेटा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रवी कशवाहले धादिङ समाजको अगुवाईमा प्राप्त राहत हावाहुरी पीडितका लागि निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
समाजका अध्यक्ष कृष्णबहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव राजु पाण्डे, पूर्व सचिव गोकर्ण अधिकारी, आजीवन सदस्य बुद्ध बस्याल लगायतले बोलेका थिए ।
यसैगरी रेन्वो चिल्ड्रेन होम नेपालले पनि हावाहुरी पीडितलाई राहत उपलब्ध गराएको छ । समाजका विपन्न एवं असहाय बालबालिकाको क्षेत्रमा क्रियाशील उक्त संस्थाले प्रभावित क्षेत्रमा पुगी पीडितको आवश्यकता अनुसारको रु २ लाख बराबरको राहत सामग्री वितरण गरेको हो ।
हावाहुरीपीडित क्षेत्रमा पुगेको टोलीले बस्तीका विशेषतः सुत्केरी र नवजात शिशुका लागि आवश्यक सामग्री वितरण गरेको रेन्बो चिल्ड्रेन होमका संस्थापक गोमा ढकालले जानकारी दिइन् । उनका अनुसार सो बस्तीका १० देखि १ महीनासम्मका १० सुत्केरी र नवजात शिशुलाई म्याट्रेस, तकिया, तन्ना, हर्लिक्सलगायत सामग्री र नगद वितरण गरिएको हो ।






